जनकपुरधाम, जेठ २७ । धनुषा निर्वाचन क्षेत्र नम्वर ३ को ‘ख’ वाट निर्वाचित प्रदेश सांसद दीपेन्द्र ठाकुरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । नेकपा (एमाले)का मधेश प्रदेशका सांसद ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अस्पताल निर्माणमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मंगलबार मुद्दा दायर गरेको छ । धनुषाको औरही गाउँपालिकामा अस्पताल निर्माणका क्रममा अनियमितता गरेको अभियोग उनीमाथि लगाइएकोछ । गाउँपालिकाका कर्मचारीलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर भएको छ ।
प्रदेश सांसद दीपेन्द्र ठाकुरविरुद्ध मुद्दा दायर भएसँगै उनको सांसद पद स्वत निलम्बनमा परेको छ। उनी आफ्ना निर्वाचनमा भ्रष्टाचार सम्वन्धी मुद्दालाई नै चुनावी मुद्दाको रुपमा अगाडि सारेका थिए । प्रदेश सभामा पनि उनी बोल्ने अधिकांश समय भ्रष्टाचार न्यूनिकरणकै बिषयमा बोल्ने गरेका थिए । तर, आज अख्तियारले उनी विरुद्ध भ्रष्टाचार गरेकै अभियोगमा मुद्दा दायर गरेका छन् ।






