काठमाडौं, जेठ ३१ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापतिको निर्वाचन प्रत्यक्ष प्रणालीबाट गर्न प्रस्ताव गरेको छ ।
पार्टीको गुटबन्दी अन्त्य गर्नको लागि क्रियाशील सदस्यबाट प्रत्यक्ष रूपमा पार्टी सभापतिको निर्वाचन हुनु पर्ने बताएका छन्।
तेस्रो प्रदेश सभा क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले अघिल्लो महाधिवेशनमा आफूले पनि गुटको नामलिष्ट हेरेरै भोट हालेको स्वीकार गरे । उनले आफ्नो प्रस्तावमा पार्टीका सबै साथीहरू तयार भए गुटबन्दी अन्त्य गर्न सकिने जिकिर समेत गरेका छन ।
उनले कांग्रेसमा अहिले ८ लाख ६६ हजार क्रियाशील सदस्य रहेको भन्दै नयाँ थप्दा १२ लाख पुगेपनि सबैले सभापति चुन्न पाउने गरी जानुपर्ने तर्क प्रस्तुत गरेका छन ।
उनले भने, ‘हाम्रो पार्टीको अधिवेशनमा के हुन्छ, १२ लाख क्रियाशील मान्छे एकै पटक जान्छ र बुथमा गएर हामी आफ्ना प्रतिनिधि छान्छौँ, त्यो छानिएको प्रतिनिधिले अर्को प्रतिनिधि छान्दै छान्दै गएर काठमाडौँमा हामी ५ हजार मान्छेको महाधिवेशन गर्छौँ। १२ लाख मान्छेलाई यदि हामी बुथमा निकाल्छौँ, उसलाई हामी अधिवेशनमा टिक लगाउन दिन्छौँ भने यत्रो प्रविधिको जमाना छ किन त्यो १२ लाख मान्छेले अप्रत्यक्ष निर्वाचन गरेर प्रतिनिधि छान्ने ? सिधै त्यो १२ लाख मान्छेले कांग्रेसको सभापति छान्ने व्यवस्था गरौँ न।’
उनले पार्टीको महाधिवेशन ०८३ मंसिर भन्दा अगाडि नै हुने दाबी गरे। ०८४ को चुनावपछि अधिवेशन हुन्छ भन्ने आशङ्का छ भने त्यो भ्रमबाट निस्कन आग्रह गरे।
उनले पार्टी सभापति शेरबहादुर देउवा, शेखर कोइराला, शशाङ्क कोइराला, गगन थापा, विश्वप्रकाश शर्मा सबै मिलेर अधिवेशन सार्छु भनेपनि अदालतले देखाइदिने भन्दै रोक्न नमिल्ने बताए।






