बजेट पूर्णतः हास्यास्पद, असन्तुलित : पूर्व अर्थमन्त्री साह



जनकपुरधाम, असार २ । मधेश प्रदेशका पूर्व अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले मधेश प्रदेश सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को बजेट पूर्णतः हास्यास्पद, असन्तुलित र जनविरोधी रहेको बताएका छन ।

प्रदेश सरकारले स्रोतको वितरणमा जनताका आवश्यकता तथा प्राथमिकतालाई ध्यान नदिएको उल्लेख गर्दै पूर्व मन्त्री साहले केही सीमित क्षेत्र र वर्गमा केन्द्रित गरेर बजेटको ठूलो हिस्सा विनियोजन गरिँदा सरकारमाथि प्रदेशवासीको भरोसामा कमी आएको टिप्पणी गरे ।

मधेश टुडे संग बजेट बारे टिप्पणी गर्दै पूर्वमन्त्री साहले सत्ता समीकरण सुरक्षित राख्ने, चुनावी लोकरिझाइँ गर्ने र पार्टी कार्यकर्तालाई पोषित गर्ने उद्देश्यले बनाइएको यो बजेटले प्रदेशको दिगो विकासभन्दा पनि अल्पकालीन र सस्तो लोकप्रियताको बाटो रोजेको स्पष्ट पारे ।

बजेट वक्तव्य र नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य जस्ता संवेदनशील र जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्रको कुरा गरिए पनि बजेट विनियोजनमा यी क्षेत्रलाई उपेक्षा गरिएको उनको टिप्पणी छ । उनले भने ,‘पूर्वाधार निर्माणका नाममा अत्यधिक रकम विनियोजन गरेर ‘ढलान, दलान र श्मशान’ मा बजेटलाई केन्द्रित गरिएको छ।

बजेटले वञ्चित र सीमान्तकृत समुदायसम्म राज्यस्रोत पु¥याउने कुनै गम्भीर प्रयास नगरेको भन्दै पूर्व मन्त्री साहले भनेका छन ,‘ समावेशी र न्यायपूर्ण विकासको अवधारणालाई बेवास्ता गर्दै प्रस्तुत गरिएको बजेट मधेशी जनताको आकांक्षाविपरीत र लोकतान्त्रिक मूल्यविपरीत रहेको मेरो ठहर छ ।’

मधेश प्रदेश सरकारलाई जनउत्तरदायी, समावेशी र समन्यायिक बजेट पुनःसंरचना गर्न आग्रह गर्दै उनले भने ,‘ अन्यथा यस्तो बजेटले प्रदेशमा असन्तोष बढाउनुका साथै विकासको मार्ग नै बाधित हुनेछ ।’

प्रकाशित मिति: २०८२ असार २, सोमवार १९:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको