राजविराज, असार ३ । सप्तरीमा गाँजा तस्करी कसुरमा फरार एकजना प्रतिवादी पक्राउ परेका छन् । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ का ३५ बर्षिय बुधन भनिने जोगानन्द मण्डल पक्राउ परेका हुन् ।
मिति २०७९ पुस १४ गते हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित कोशी व्यारेज गोलघर देखि अन्दाजी ५ सय मिटर उत्तर पूर्व कोशी भंगालको पूर्व टापुको एकान्त स्थानमा ८ क्वीन्टल १० किलो गाँजा बरामद भएको थियो ।
उक्त गाँजा बालुवाबाट खनी निकालेर प्रारम्भिक अनुसन्धान गर्दा मण्डलको संलग्नता पाएपछि फरार रहेको उनलाई भारदहबाट आइतबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
मण्डललाई लागूऔषध गाँजा तस्करी सम्बन्धि कसुर तथा उनिमाथि लागेको अन्य मुद्दामा समेत जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
सप्तरीमा ठूलो मात्रामा लागूऔषध गाँजा बरामद हुने गरेपनि तस्करीमा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गर्न सकेका थिएन । गाँजा तस्कर पक्राउ नपर्दा अझै गाँजा तस्करी निरन्तर हुने गरेका छन् ।






