वृजमान तामाङ
राजविराज, असार ६ । नेपाल तामाङ घेदुङ मधेश प्रदेश को दोस्रो अधिवेशनको तयारी पुरा भएको छ । प्रदेश समितिले शुक्रबार पत्रकार सम्मेलन गरी यसवारे जानकारी गराइएको हो ।
अधिवेशन शनिबार हरिवन नगरपालिका स्थित सम्राट होटल तथा पार्टी प्यालेसमा आयोजना गरिने पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिए । मधेश प्रदेशका ८ वटै जिल्लाबाट प्रतिनिधि सहभागी हुने नेपाल तामाङ घेदुङ मधेश प्रदेश समिति अध्यक्ष यमलाल गोलेले जानकारी दिए उनले। यस अधिवेशनले घेदुङको आगामी कार्यकालको लागि नयाँ नेतृत्व समेत चयन गर्ने बताए ।
अधिवेशनमा जिल्ला तथा पालिका कमिटीको गरी एक सय ५० जना प्रतिनिधि सहभागी हुने प्रदेश उपाध्यक्ष संजिव मोक्तानले बताए । यस प्रदेशमा घेदुङको २९ वटा पालिका कमिटी रहेको छ । घेदुङको सङ्घीय अध्यक्ष मोहन गोले तामाङले अधिबेशन उद्घाटन गर्ने उनले जानकारी दिए।
उद्घाटन सभा सम्पन्न भए लगतै बन्दसत्र सुरु गरिने आयोजकले बताएका छन् । सर्वसहमतीबाट नेतृत्व चयन गर्ने हदैसम्मको प्रयास गरिने प्रदेश अध्यक्ष गोलेले जानकारी दिए । नेतृत्वको भागबन्डा दलगत हिसाबले हुने गरेको पत्रकारहरुले राखेको जिज्ञासामा प्रदेश अध्यक्ष गोलेले यस पटक त्यसबाट घेदुङ टाढै रहने दावी गरे ।
अधिबेशनमा ५ लाखबढी खर्च हुने अनुमान गरिएको आयोजकले बताएका छन् । अधिवेशन उद्घाटन समारोहमा अन्य विशिष्ट व्यक्तिहरूको समेत सहभागिता रहने उपाध्यक्ष मोक्तानले बताए ।
अध्यक्ष गोले घेदुङ मधेस प्रदेशको नेतृत्व दोहोर्याउने दाउमा छन् भने उपाध्यक्ष मोक्तान समेत अध्यक्षका आकाँक्षी हुन् ।






