जनकपुरधाम, असार ७ । जनकपुर न्युरो अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। अस्पताल परिसरमै आयोजित यस विशेष कार्यक्रममा चिकित्सक, अस्पताल कर्मचारी र स्थानीय शुभेच्छुकसहित २५ जनाले रक्तदान गरेका छन्।
न्युरो अस्पतालका सूचना अधिकारी संजय मण्डलका अनुसार कार्यक्रम छोटो समयमै आयोजना गरिएको भए तापनि सहभागिता उत्साहजनक रह्यो। “अस्पतालका चिकित्सकदेखि कार्यालय सहयोगीसम्मको सक्रिय सहभागिताले रक्तदान कार्यक्रम सफल भयो,” मण्डलले भने। उनका अनुसार रगतको माग दिनप्रतिदिन बढ्दै गएको जनकपुरधाममा यस्तो कार्यक्रमले स्वास्थ्य प्रणालीलाई केही सहज बनाउने विश्वास गरिएको छ।
हाल जनकपुरधाममा विभिन्न स्वास्थ्य संस्थाहरुमा दैनिकजसो रगतको आवश्यकता पर्न थालेको छ। रोगीहरुको चाप उच्च हुँदा रगतको अभावले उपचारमा समस्या आइरहेको जनाइएको छ। यस पृष्ठभूमिमा आयोजित रक्तदान कार्यक्रमले केही मात्रामा भएपनि रगतको आपूर्तिमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।
नेपाल रेडक्रस सोसाइटी ब्लड बैंक जनकपुरका ल्याब प्रमुख नारायण न्यौपानेले जनकपुरधाम क्षेत्रमा मासिक करिब १,००० पिन्ट रगत आवश्यक पर्ने जानकारी दिए। तर आवश्यक मात्रामा रक्तदान हुन नसक्दा ब्लड बैंकलाई नियमित आपूर्ति गर्न कठिनाइ भइरहेको उनले बताए। “न्युरो अस्पतालले योग दिवसको अवसरमा आज गरेको रक्तदानले अलिअलि भए पनि आपूर्तिमा सहजता ल्याउनेछ,” न्यौपानेले भने।
उनका अनुसार जनचेतनाको कमी, रक्तदानप्रति रहेको डर र भ्रमका कारण अझै पनि धेरैले स्वेच्छिक रक्तदान गर्न हिच्किचाउने गरेका छन्। यस्ता कार्यक्रमले मानिसहरूमा रक्तदानप्रतिको बुझाइ विस्तार गर्न र स्वेच्छिक रक्तदानको प्रवर्द्धन गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
कार्यक्रममा सहभागीमध्ये अधिकांश युवा थिए।
न्युरो अस्पताल जनकपुरले आगामी दिनमा यस्ता सामाजिक उत्तरदायित्वका कार्यहरू निरन्तर गर्दै जाने जानकारीसमेत गराएको छ। अस्पतालले स्वास्थ्य सेवा मात्र नभई सामाजिक सचेतना अभिवृद्धिमा पनि योगदान दिने योजना बनाएको छ।
रक्तदान कार्यक्रमले योग दिवसको सार्थकता बढाउनुका साथै समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको सहभागिहरूले प्रतिक्रिया दिएका छन्।




