न्याय सम्पादन छाडेर सडक नाटकमा व्यस्त जनकपुरधाम



जनकपुरधाम, असार ९ । न्याय सम्पादन छाडेर सडक नाटकमा जनकपुरधाम उप–महानगरपालिका व्यस्त भएको छ । असार वित्नै लाग्दा जनकपुरधाम उप–महानगर बजेट सकाउन सडक नाटकलाई माध्यम बनाएको छ ।

जनकपुरधाम उप–महानगरपालिकालाई मुलुक मै उत्कृष्ट न्यायीक समिति घोषणा गरिएको थियो तर, त्यसको दुई बर्ष नै नवित्दा न्यायीक समितिमा मुद्दाको चाँग लागेको छ भने कार्य सम्पादनमा अत्यन्तै ढिलाई हुने गरेको छ । महालेखाका प्रतिवेदन अनुसार आर्थिक बर्ष २०८१/०८२ मा मात्रै २३७ वटा मुद्दा दर्ता मध्ये मात्र ९० वटा फर्छयौट भई १४० वटा मुद्दा फरफराक गर्न बाँकी रहेको र त्यसलाई छिटो भन्दा छिटो फरफराक गर्न भनिएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४६ देखि ५३ सम्म अधिकार क्षेत्र तथा न्याय सम्पादन प्रक्रियाको व्यवस्था गरेको छ । समितिमा परेको उजुरी मध्ये मेलमिलाप प्रकृतिका आधारमा विवाद दर्ता भएको ३ महिना भित्र टुङ्गो लगाउने व्यवस्था छ । तर लेखापरीक्षणको क्रममा प्राप्त विवरण अनुसार गत बर्ष फर्छयोट वा कारवाही किनारा गरी टुङ्गो लगाउन बाँकी रहेको १७५ र यो बर्ष थप भएको ६२ गरी कुल २३७ विवाद दर्ता भएकोमा ९७ वटा फर्छयोट भई १४० वटा मुद्दा फरफराक गर्न बाँकी देखिएको महालेखाले उल्लेख गरेको छ ।

न्यायीक समिति जनकपुरधाम उप–महानगरपालिकामाथि पटक–पटक मुद्दा फर्छयोट बापत पीडितहरुवाट मोटो रकम असुल गर्ने गरेको आरोप लाग्दै आएको छ । न्यायीक समितिमा मुद्दालाई लामो समय सम्म तान्नुको पछाडि नै पैसाको लेनदेन मनोसाय रहेको जनकपुरधामबासीहरुले आरोप लगाइ सकेका छन् । चालु आर्थिक बर्षमा मुद्दा थपिए पनि फर्छयोट भने अत्यन्तै कम भएको तथ्यांक पाइएको छ ।

न्यायीक समितिमा मुद्दा पर्नु भन्दा जिल्ला अदालत वा पुनरावेदन (उच्च अदालत जनकपुर)मा फर्छयोट हुनु सहज रहेको जनकपुरधाम–उप महानगरपालिका–४ का राजा झा बताउँछन् । न्यायीक समितिमा पैसाको चलखेल र पैसा नदिनेहरुको मुद्दा लामो समय सम्म तान्ने प्रवृतिका कारण आम जनता भने समस्यामा परेको उनको गुनासो छ ।

जनकपुरधाम उप–महानगरपालिकाका उप–मेयर किशोरी साह संयोजक रहेको न्यायीक समितिको कार्य सम्पादन अत्यन्तै फितलो गतिमा हिडेका कारण सर्वसाधारण जनता भने परेसान हुने गरेका छन् । जग्गाको विवाद देखि श्रीमान श्रीमति बीचको झगडा सम्मको विवाद न्यायीक समितिमा आउने गरेको छ । तर, उप–प्रमुख साह भने अहिले बार्षिक कार्यक्रममा परेका आफ्नो योजना चलाउनमा व्यस्त छन् ।

न्याय सम्पादन छाडेर सडक नाटकमा व्यस्त उनले यस बर्ष करिव २० लाख भन्दा बढीको रकम सडक नाटकमै विनियोजन गराएर कार्य सम्पादन भन्दा बढी सडक नाटक तथा आफ्ना विकास निर्माणका योजना चलाउन व्यस्त छन् ।

प्रकाशित मिति: २०८२ असार ९, सोमबार १७:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको