सिरहा, असार ११ । सिरहा जिल्लाको कर्जन्हा नगरपालिका–१ र २ को सिमानास्थित बन्दिपुर–बाबाताल जाने सडकखण्डमा रहेको हाईटेन्सन (उच्च भोल्टेज) विद्युतीय पोलमा एक अपरिचित व्यक्ति चढेपछि तनावपूर्ण स्थिति सिर्जना भएको छ । स्थानीयवासीका अनुसार ती व्यक्ति नाङ्गै अवस्थामा पोलमा चढेका छन्, जसले घटनालाई थप जटिल र जोखिमपूर्ण बनाएको छ ।
घटनास्थलमा अहिले स्थानीय प्रहरी र सिरहा जिल्ला प्रहरी कार्यालयको टोली उद्धार प्रयासमा खटिएको छ । तर हालसम्म उद्धार कार्य सफल हुन सकेको छैन । विद्युतीय पोल उच्च भोल्टेजको लाइनसँग जोडिएको हुनाले कुनै पनि असावधानीका कारण गम्भीर दुर्घटना हुने सम्भावना रहेको भन्दै सतर्कता अपनाइएको छ ।
प्रहरीका अनुसार घटनाको प्रकृति गम्भीर छ र उद्दारमा विशेष सावधानी आवश्यक भएकोले नेपाली विद्युत प्राधिकरणसँग समन्वय गरी लाइन काट्ने प्रयास गरिएको छ । यद्यपि, घटनास्थलमा विद्युतीय जोखिम, ती व्यक्तिको मानसिक अवस्था, तथा उनको उद्देश्यमाथि स्पष्ट जानकारी नभएकाले उद्दार कार्यमा ढिलाइ भइरहेको बताइएको छ ।
स्थानीयवासी घटनास्थलमा भेला भई उद्दार प्रयास हेर्दै छन् भने सामाजिक सञ्जालमार्फत घटनाबारे जानकारी फैलिएको छ । मानिसको ज्यानसँग प्रत्यक्ष जोडिएको घटनाले स्थानियबासी चिन्तित बनेका छन् । प्रत्यक्षदर्शीहरूले बताएअनुसार ती व्यक्ति करिब एक घण्टादेखि पोलको टुप्पोमा बसेका छन् ।
सिरहा जिल्ला प्रहरी कार्यालयका अनुसार हाल मानसिक स्वास्थ्य विज्ञसँग परामर्श लिइँदैछ भने उद्धार कार्य सुरक्षित ढंगले सम्पन्न गर्न विभिन्न निकायबीच समन्वय भइरहेको छ । जिल्ला प्रहरी प्रमुखको निर्देशनमा विशेष टोली घटनास्थलमा परिचालित गरिएको छ ।
घटनाको सम्पूर्ण विवरण अझै खुल्न बाँकी रहेको र ती व्यक्ति को हुन् भन्ने बारेमा पुष्टि हुन सकेको छैन । उनी मानसिक समस्याबाट पीडित हुनसक्ने अनुमान गरिएको छ । स्थानीय प्रशासनले भने सर्वसाधारणलाई घटनास्थलमा भीडभाड नगर्न र शान्ति सुरक्षामा सहयोग गर्न आग्रह गरेको छ ।
प्रहरी, स्थानीय प्रशासन, नेपाली विद्युत प्राधिकरण तथा उद्दार टोलीको सक्रियतामा घटनाको समाधान खोज्ने प्रयास जारी छ । घटनाको थप विवरण आउन बाँकी छ ।




