हेटौंडा, असार २० । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० स्थित राप्ती रोडमा बिहीबार राति साढे ११ बजे मोटरसाइकल दुर्घटनामा एक प्रधानाध्यापकको ज्यान गएको छ। राक्सिराङ गाउँपालिका–५ मा अवस्थित कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक ४५ वर्षीय दिपेन्द्रकुमार झाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
झा सवार ना ४३ प ४५१५ नम्बरको मोटरसाइकल हेटौंडाको बुद्धचोकबाट थानाभर्याङतर्फ जाँदै गर्दा सडक निर्माण कार्यका लागि खनिएको ठाउँमा दुर्घटनामा परेको हो। राप्ती रोडमा ह्युमपाइप राख्ने उद्देश्यले सडक खनिएको थियो। सोही खनिएको खाल्डोमा मोटरसाइकल अनियन्त्रित भई प्रधानाध्यापक झाको मृत्यु भएको छ ।
दुर्घटनास्थलमा प्रहरीको टोली पुगेको थियो भने शव पोस्टमार्टमका लागि हेटौंडा अस्पताल लगिएको छ। प्रारम्भिक अनुसन्धानअनुसार दुर्घटनाको प्रमुख कारण सडकको अव्यवस्थित खनाइ र पर्याप्त चेतावनी संकेतको अभाव रहेको अनुमान गरिएको छ।
जनकपुरधाम उपमहानगरपालिका–४, विद्यापति चोक बस्ने झा विगत १५ वर्षदेखि कालिका माध्यमिक विद्यालयमा प्रधानाध्यापकको रूपमा कार्यरत थिए। शिक्षण क्षेत्रमा उनी अनुशासित, कर्तव्यनिष्ठ र लोकप्रिय व्यक्तित्वका रूपमा चिनिन्थे। विद्यालय व्यवस्थापन समिति, शिक्षक कर्मचारी तथा विद्यार्थीहरू झाको असामयिक निधनले स्तब्ध भएको बताएका छन्।
उक्त घटनाले पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत निर्माणाधीन सडक सुरक्षाबारे गम्भीर प्रश्न उठाएको छ। स्थानीय बासिन्दा र सरोकारवालाहरूले निर्माण कम्पनी र सम्बन्धित निकायको लापरवाहीप्रति आक्रोश व्यक्त गरेका छन्। सडकमा खनिएको ठाउँमा न चेतावनी बोर्ड राखिएको थियो, न त कुनै सुरक्षित घेराबन्दी गरिएको थियो। यस्ता लापरवाहीका कारण आम सर्वसाधारणको ज्यान जोखिममा पर्दै आएको भन्दै तत्काल सुधारको मागसमेत गरिएको छ।
झाको निधनले शैक्षिक क्षेत्र मात्रै नभई समुदायमै ठूलो क्षति पुगेको भन्दै विभिन्न संघसंस्थाले दुःख व्यक्त गरेका छन्। परिवार, सहकर्मी तथा विद्यार्थीहरूले उनको योगदानलाई सदैव सम्झिरहने बताएका छन्।




