जनकपुरधाम, असार २१ । नेपाली कांग्रेसका पूर्व उपसभापति तथा प्रभावशाली नेता विमलेन्द्र निधिले राजर्षि जनक विश्वविद्यालयको भवन निर्माणमा नेकपा एमाले समर्थित शिर्ष नेताहरुले अवरोध गरिरहेको आरोप लगाएका छन् ।
जनकपुरधाम स्थित पार्टी कार्यालयमा आज विहान आयोजित पत्रकार सम्मेलनमा नेता निधिले एमालेवाट धनुषा निर्वाचन क्षेत्र नम्वर ३ र ४ बाट बिजयी प्रतिनिधिसभा सदस्यहरुले अवरोध गरिरहेको आरोप लगाए ।
राजर्षि जनक विश्वविद्यालय स्थापना गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेका पूर्व शिक्षा मन्त्री समेत रहेका नेता निधिले विश्वविद्यालय स्थापना लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरको भूमिकाको प्रसंसा गर्दै राम स्वरुप राम सागर बहुमुखि क्याम्पसका प्रध्यापकहरुको असहयोगले समेत विश्वविद्यालय प्रभावित भएको आरोप लगाए ।
राजर्षि जनक विश्वविद्यालय बार्षिक लाखौं रुपैयाँ भाडा तिरेर टुक्रा टुक्रा रुपमा सञ्चालन हुँदै आएको छ । अहिले नेपाली कांग्रेसका सह महामन्त्री महेन्द्र यादवले नै विश्वविद्यालयको भवन मुजेलिया वा मुजेलिया भन्दा उत्तर आफ्नो निर्वाचन क्षेत्रमा बनाउन विश्वविद्यालयका उप–कुलपति अमर यादवलाई दवाव दिँदै आएका छन् । तर, पत्रकार सम्मेलनमा नेता निधिले एमालेमाथि आरोप लगाएका छन् ।
विश्वविद्यालयको भवन निर्माणमा नेपाली कांग्रेसका सह महामन्त्री यादव राजर्षि जनक विश्वविद्यालयमा प्रध्यापक देखि कर्मचारी भर्ना समेतमा हस्तक्षेप गरेर आफ्ना पक्षका कार्यकर्ताहरुलाई कर्मचारीमा भर्ना गराएका छन् ।




