सभामुख मण्डलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन



जनकपुरधाम, असार २६ । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको बजेटमा गम्भीर त्रुटि भएको भन्दै उत्पन्न विवादलाई समाधान गर्न प्रदेशसभाले ६ सदस्यीय कार्यदल गठन गरेको छ।

सभामुख रामचन्द्र मण्डलको नेतृत्वमा गठन गरिएको सो कार्यदलमा सत्तापक्ष, प्रतिपक्ष तथा सरकारका प्रतिनिधिहरू समावेश गरिएका छन्। कार्यदलमा प्रमुख प्रतिपक्षी जसपा नेपालका प्रमुख सचेतक रामअशीष यादव, नेकपा (माओवादी केन्द्र)का सांसद जवाहरलाल कुशवाहा, नेकपा (एकीकृत समाजवादी)का कनिष पटेल, नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव तथा नेकपा (एमाले) संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादव सहभागी ६ सदस्यीय कार्यदल गठन भएको छ।

प्रदेशसभाका सभामुख मण्डलले कार्यदल गठनको जानकारी दिँदै बजेटमा देखिएका त्रुटिको तथ्यगत अध्ययन गर्न र समाधानको सुझावसहित छिटो प्रतिवेदन बुझाउन कार्यदललाई जिम्मेवारी दिइएको बताए।

स्मरण रहोस्, मधेश प्रदेश सरकारले असार १५ गते सार्वजनिक गरेको बजेटमाथि प्रतिपक्षी दलहरूले आपत्ति जनाउँदै आएका छन्। उनीहरूले बजेटमा स्रोत र खर्चका विवरणमा मिल्दो–जुल्दो त्रुटि रहेको, कानुनी प्रक्रिया नअपनाई बजेट पारित गरिएको तथा समावेशीता र सन्तुलनको अभाव देखिएको भन्दै संसद् बैठक पटक–पटक अवरुद्ध गर्दै आएका छन्।

प्रतिपक्षको निरन्तर अवरोध र विरोधपछि बजेट सम्बन्धी विवाद समाधान गर्न कार्यदल गठन गर्न सभामुखले पहल लिएको बताइएको छ। कार्यदलले समग्र बजेट प्रक्रिया, तयारी, प्रस्तुति र स्वीकृतिको प्रक्रिया सम्बन्धमा तथ्याङ्कीय विश्लेषण गर्नेछ र त्यसका आधारमा आवश्यक सिफारिससहितको प्रतिवेदन तयार पार्नेछ।

प्रदेशसभाभित्र उत्पन्न बजेट विवाद समाधानको यो प्रयासलाई सकारात्मक संकेतका रूपमा लिइएको छ। कार्यदलको निष्कर्षले आगामी दिनमा पारदर्शी र उत्तरदायी बजेट निर्माण प्रक्रियामा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

अब छानबिन समितिको निष्कर्षले बजेट विवादको समाधान दिनेछ कि प्रदेशको राजनीतिक संकट अझै चुलिनेछ भन्ने विषयमा चासो र प्रतीक्षा बढेको छ।

प्रकाशित मिति: २०८२ असार २६, बिहीबार १८:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको