प्रधानमन्त्री ओलीकै संलग्नतामा दमक भ्यू टावरमा संगठित भ्रष्टाचार ?



काठमाडौँ, असार २६ । प्रधानमन्त्री ओलीकै संलग्नतामा दमक मा अवस्थित ‘भ्यू टावर’ मा संगठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरुले छानबिनको माग गरेका छन् ।

स्थानीय तथा संचारकर्मी अबिन मेयाङ्ग्वोले पत्रकार सम्मेलन गरेर भ्यू टावर निर्माणको नाममा सार्वजनिक सम्पत्ति हिनामिना गर्न खोजेको भन्दै छानबिन गर्न माग गरेका छन् । तत्कालिन ओली नेतृत्वको सरकारले गौरवको योजनाको रुपमा निर्माण गरेको उक्त भ्यू टावरसम्बन्धी सम्झौता पनि सार्वजनिक गर्न मेयाङ्ग्वोले माग गरे ।

दमक नगरपालिका–३ मा १८ तले भ्यू टावर ४ बिघा १८ कठ्ठा ७ धुरमा निर्माण गरिएको छ । भ्यू टावर निर्माणको लागि २०७३ सालतिर माँ पञ्चकन्य हाउजिङ प्रा.लि.लाई करिब ४ बिघा १८ कठ्ठा, ७ धुर जग्गा दमक नगरपालिकाले उपलब्ध गराएको थियो । स्थानीय विकास र पर्यटन प्रवद्धनको अपेक्षा गरेर सार्वजनिक प्रयोजनको लागि कम्पनीलाई दिइएको थियो ।

तर, अहिले कम्पनीले भ्यू टावर निर्माण गरिएको २ बिघा जग्गा सापटीस्वरुप फिर्ता र २५ कठ्ठा जग्गा वापतको मौद्रिक क्षतिपूर्ति माग गरेर पुनः स्वमित्व दाबी गरेपछि नयाँ बिबाद सिर्जना भएको छ । जनप्रतिनिधि नभएको बेला नगरपालिकाले कसरी उक्त कम्पनीलाई सो जग्गा दियो भन्ने कुरा अहिलेसम्म खुलेको छैन ।

सोही विषयलाई लिएर पत्रकार मेयाङ्ग्वोले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत दिएका छन् । उनले नगरपालिका र कम्पनीबीच सम्झौता नभेटिएको तर कम्पनीले मौद्रिक मूल्य फिर्ता माग गर्नुले गोप्यरुपमा सार्वजनिक सम्पत्ति व्यक्तिगत लाभमा प्रयोग भएको देखिएकोले छानबिनको आफूले माग गरेको जानकारी समेत दिए ।

‘सो जग्गा कुनै प्रस्ताव, सम्झौता, खुला प्रतिस्पर्धा वा सार्वजनिक मापदण्ड बिना निजी कम्पनिलाई दिएको देखिन्छ, नगरपालिकाले कुनै सम्झौता भएको छैन, सार्वजनिक सम्पत्ति व्यक्तिले लाभ लिने गरी संगठितरुपमा भ्रष्टाचार भएको देखिन्छ । अहिले पुनः स्वमित्व दाबी गरेकोले छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको हुँ’ मेयाङ्ग्वोले पत्रकार सम्मेलनमा भने । उनले अख्तियारले छानबिन अगाडि बढाउने समेत अपेक्षा गरे ।

प्रधानमन्त्री ओलीकै संलग्नतामा दमक को भ्यू टावर निर्माणको विषयलाई पादर्शी बनाउन आफूले लामो समयदेखि माग गर्दै आएको तर नगरपालिकाले कुनै कागजात देखाउन नसकेको मेयाङ्ग्वोले बताए । उनले कम्पनीले माग दाबी गरेअनुसारको जग्गा र मौद्रिक क्षतिपूर्ति दिन नहुने समेत बताए ।

भ्यू टावर नबन्नुअघि प्रति कठ्ठा अधिकतम तीन लाखसम्म पर्ने सो जग्गा कम्पनीले अहिले ५० लाखको हिसाबले क्षतिपूर्ति माग गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीकै पहलमा उक्त भ्यू टावर निर्माणमा भएको र सार्वजनिक सम्पत्ति अपादर्शीरुपमा व्यक्तिले लाभ लिने खेल भएको दाबी मेयाङ्ग्वोले गरे । उनले भने, ‘डुबान हुने ठाउँमा प्रधानमन्त्रीज्यूकै पहलमा भ्यू टावर निर्माण गरिएको हो, उहाँले भ्यू टावरलाई निकै महत्व दिनुभएको छ, यसमा भएको संगठित भ्रष्टाचारमा उहाँको पनि संलग्नता हुन सक्छ, उहाँमाथि पनि छानबिन हुनुपर्छ ।’

प्रकाशित मिति: २०८२ असार २६, बिहीबार १८:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको