जनकपुरधाम, असार २८ । पूर्व–पश्चिम लोकमार्गको स्तरोन्नतिको क्रममा धनुषाको कमला देखि बारा जिल्लाको पथलैयासम्मको १३० किलोमिटर दूरीमा पर्ने सडक दायाँबायाँका रुख कटानको प्रक्रिया अघि बढेको छ। वन तथा भू–संरक्षण विभागले असार २३ गते स्वीकृत परिमार्जित वातावरणीय व्यवस्थापन योजनाअनुसार ३१ हजार ५२९ वटा रुख हटाउने आदेश दिएको हो।
गौरीडाँडास्थित कमला–ढल्केवर–पथलैया सडक आयोजनालाई विभागले आधिकारिक पत्राचार गरेपछि अब रुख व्यवस्थापनको प्रक्रिया अघि बढ्ने भएको छ। आयोजना प्रमुख छविलाल पौडेलका अनुसार रुख व्यवस्थापन नभएकै कारण सडक स्तरोन्नतिको काम अपेक्षित गतिमा अघि बढ्न सकेको थिएन। वातावरणीय प्रभाव मूल्याङ्कन ९भ्क्ष्ब्० प्रतिवेदन २०८१ सालमै स्वीकृत भए पनि कटान आदेश आउन दुई वर्ष लाग्यो।
विश्व बैंकको १८ अर्ब ६० करोड रुपैयाँ बराबरको ऋण सहयोगमा सञ्चालन भइरहेको यस आयोजना अन्तर्गत पूर्वी खण्डको स्तरोन्नतिको काम सन् २०२५ को जनवरी १ तारिखदेखि तीन स्थान—कमला पुल पश्चिम (धनुषा), बडहरी (सर्लाही) र फूलजोर—बाट एकैसाथ सुरु गरिएको हो।
हालको दुई लेन सडकलाई सहरी तथा बजार क्षेत्रमा ६ लेन (३१ मिटर चौडाइ) र अन्य क्षेत्रमा ४ लेनसहित ‘मेडियन’ सहित १८ मिटर चौडाइमा विस्तार गर्ने योजना रहेको छ।
कमला पुलदेखि बडहरीसम्मको खण्ड इकेके इन्फ्रास्ट्रक्चर लिमिटेड (भारत) ले जिम्मा लिएको छ भने बडहरी–फूलजोर र फूलजोर–बागमती खण्ड चाइनीज कम्पनी एसडब्ल्यु इजे र नेपाली कम्पनी रखुवा कन्स्ट्रक्सनको संयुक्त उपक्रमले निर्माणको जिम्मा लिएको छ।
तर, सडकछेउका रुख र विद्युतीय पोल जस्ता भौतिक अवरोधका कारण ठेकेदार कम्पनीहरू काममा निराश देखिएका छन्। ६ महिना बितिसक्दा पनि आवश्यक न्यूनतम १५ प्रतिशत प्रगति हुनुपर्नेमा केवल १० प्रतिशत मात्रै कार्य सम्पन्न भएको आयोजनाले जनाएको छ।
प्रमुख पौडेलका अनुसार, ‘रुखका कारण मुख्य अवरोध सिर्जना भएको छ। पोल व्यवस्थापन र डाइभर्सनको लागि ठाउँ अभाव हुँदा पुल र कल्भर्ट निर्माण प्रभावित भएको छ।ू कमला–बागमती पूर्वी खण्डमा प्रस्तावित ३४ पुल र १०० कल्भर्टमध्ये हालसम्म १५ पुल र १७ कल्भर्टमा मात्रै काम भएको छ।
यद्यपि विभागबाट आदेश आइसके पनि तत्काल रुख कटान सुरु गर्न नसकिने वन अधिकारीहरूले बताएका छन्। मधेश प्रदेशका वन निर्देशक जगन्नाथप्रसाद जयसवालले रुखहरूमा टाँचा हान्ने, सूची मिलाउने तथा जिल्ला वन कार्यालयहरूसँग समन्वय गर्नुपर्ने भएकाले केही समय लाग्ने बताए।
उनले भने, ‘विभागीय आदेश आइसकेको छ। अब आयोजना र सम्बन्धित जिल्ला वन अधिकृतहरूबीच छलफल गरेर छपान तथा कटानको काम छिटो सक्ने प्रयासमा छौँ।’
राजमार्ग स्तरोन्नतिको काम समयमै सम्पन्न गर्न रुख कटान लगायतका प्रक्रियालाई तिव्रता दिनुपर्नेमा सरोकारवालाहरूको जोड रहेको छ।






