रूपन्देही, भदौ ९ । लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त तीन मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिँदैछन्। शपथ ग्रहण कार्यक्रम दिउँसो ३ः२५ बजे बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा तय गरिएको छ।
प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा ९९० बमोजिम सोमबार मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए।
पुनर्गठनपछि स्वास्थ्य मन्त्रीमा दीपेन्द्रकुमार पुन, आर्थिक मामिला तथा योजना मन्त्रीमा इन्द्रजीत थारू र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रीमा कृष्णा कुश्मा थारू नियुक्त भएका छन्। उनीहरूले आज प्रदेश प्रमुख घर्तीमगरसमक्ष पद तथा गोपनीयताको शपथ लिनेछन्।
मन्त्रिपरिषद् पुनर्गठनसँगै केही मन्त्रीको जिम्मेवारीसमेत हेरफेर गरिएको छ। तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालय, रामजीप्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालय र सन्तोषकुमार पाण्डेयलाई शहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ।
त्यस्तै रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा भण्डारीलाल अहिरलाई आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयको जिम्मेवारी तोकिएको छ।
यसअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका रामजीप्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालयमा सारिएको छ। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारीमा रहेका तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ। सामाजिक विकास मन्त्रालय सम्हाल्दै आएका सन्तोषकुमार पाण्डेयलाई शहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको हो।
केन्द्रमा भएको राजनीतिक परिवर्तनसँगै नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएपछि लुम्बिनी प्रदेशमा नयाँ सत्ता समीकरणअनुसार मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो। एमाले, नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी, नेपालबीच भएको सहमतिअनुसार प्रदेश सरकारमा एमालेबाट मुख्यमन्त्रीसहित चार, नेपाली कम्युनिष्ट पार्टीबाट तीन र जसपा नेपालबाट दुई जना मन्त्री रहने व्यवस्था गरिएको छ।
लुम्बिनी प्रदेशसभामा एमालेका २९, नेपाली कांग्रेसका २७, नेपाली कम्युनिष्ट पार्टीका १३, जसपा नेपालका ५, राप्रपाका ४, जनमत पार्टीका ३, राष्ट्रिय जनमोर्चाका १ र एक जना स्वतन्त्र सांसद गरी कुल ८३ सदस्य छन्।






