काठमाडौं, असार २९। उत्तरपूर्वी भारतको सिक्किममा नेपालमा जन्मिएका आदिकवी भानुभक्त आचार्यको २११ औं भानु जयन्ती मनाइएको छ । गान्तोकको भानु उद्यानमा आयोजित समारोहमा सिक्किमका राज्यपाल ओम प्रकाश माथुर र मुख्यमन्त्री प्रेम सिंह तामाङले सम्बोधन गरे ।
समारोहमा उपस्थितहरुले भानुको प्रतिमामा माल्यार्पण गरे । सो अवसरमा माथुरले प्रथम पद्मश्री सम्मानित लेखक सानु लामालाई श्रद्धाञ्जली अर्पण गर्दै उनको निधन सिक्किमी नेपाली साहित्य र संस्कृतिको लागि अपूरणीय क्षति भएको बताए।
भानु जयन्ती को अवसरमा उनले भाषा केवल सञ्चारको माध्यम मात्र नभएर सभ्यता, संस्कृतिको पहिचान भएको बताए। ‘जब हामी मातृभाषालाई सम्मान गर्छौं, हामी हाम्रो विगतको सम्मान गर्छौं र हाम्रो भविष्यलाई निर्देशित गर्छौं,’ उनले भने ।
उनले भानु जयन्तीलाई केवल उत्सव मात्र नभई भाषिक एकता र सांस्कृतिक सम्पदाको प्रतीकको रूपमा वर्णन गरे। उनले सिक्किमको सामाजिक, सांस्कृतिक र आर्थिक विकासलाई उजागर गर्दै भारतको २२ औं राज्य बनेको पाँच दशकमा सिक्किमले उल्लेखनीय उपलब्धि हासिल गरेको बताए।
समारोहमा मन्त्रीहरू, लोकसभा सांसदहरू, विधायकहरू, उच्च अधिकारीहरू, जनप्रतिनिधिहरू, साहित्य प्रेमीहरू, विद्यार्थीहरु सहभागी थिए ।






