एजेन्सी
दरभंगा, असार ३१ । भारतका राष्ट्रपिता महात्मा गान्धीका पनाति तथा प्रख्यात सामाजिक कार्यकर्ता तुषार गान्धी विहार सरकारमाथि कडा प्रहार गरेका छन । लोहिया चरण सिंह कलेजमा आयोजित एक संवाद कार्यक्रममा बोल्दै तुषार गान्धी ले बिहारको वर्तमान अवस्था, राजनीतिक नेतृत्व, प्रशासनिक प्रणाली तथा जनताको सहभागिताको विषयमा गम्भीर प्रश्न उठाए ।
तुषार गान्धीले कार्यक्रममा उपस्थित विद्यार्थी, बुद्धिजीवी र स्थानीय नागरिकहरूसँग संवाद गर्दै भने, “बिहारमा लोकतन्त्रको नाममा जनतालाई मूर्ख बनाइँदैछ । विकास होइन, केवल आश्वासन बाँड्ने राजनीति मौलाएको छ ।“
गान्धीले बताए अनुसार, मोतिहारीको एउटा पंचायत कार्यालयमा जनसंवाद गर्न जाँदा त्यहाँका मुखियाले कार्यक्रम अवरोध गरेका थिए। “पंचायत कार्यालय त जनताको हो, कुनै व्यक्तिगत सम्पत्ति होइन“, उनले भने। मुखियाको आपत्तिपछि गान्धीले कार्यालय बाहिर संवाद आयोजना गरे, जसलाई स्थानीयवासीले साथ दिएका थिए।
“२० वर्षदेखि उही नेतृत्व, अवस्था उस्तै“
मुख्यमन्त्री नीतीश कुमारलाई लक्षित गर्दै तुषार गान्धीले भने, “२० वर्षदेखि एउटै व्यक्ति सत्तामा छन् तर राज्यको अवस्था उस्तै छ। विकासको गति ठप्प छ र जनताको अवस्था दिनप्रतिदिन जटिल बन्दै गएको छ। भाजपा उनको सञ्चालक बनेको छ।“
अन्त्यमा उनले चेतावनी दिँदै भने, “आजको भारतमा अभिव्यक्तिको स्वतन्त्रता सङ्कटमा छ। जुन परिस्थिति बेलायती शासनकालमा थियो, आज फेरि त्यही दोहोरिँदैछ। राज्य र केन्द्र सरकार जनताको अधिकार खोस्न तल्लीन छन्।“




