इमरान खानकी पूर्व पत्नी रेहम खान राजनीतिमा, नयाँ दल ‘पाकिस्तान रिपब्लिक पार्टी’ गठनको तयारी



एजेन्सी
इस्लामाबाद, असार ३२ ।  पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानकी पूर्व पत्नी रेहम खान राजनीतिमा सक्रिय रूपमा प्रवेश गर्न लागेकी छिन ्। उनले आफैंले नयाँ राजनीतिक दल पाकिस्तान रिपब्लिक पार्टी गठन गर्ने घोषणा गरेकी छन् ।

एनडिटीभी सँगको अन्तर्वार्तामा रेहम खानले भनिन्, “ अघिल्लो पटक कसैको आग्रहमा रेहम खान राजनीतिमा प्रवेश गरेको थियो , तर अहिले म आफ्नै शर्तमा आएको हुँ।” उनले थप भनिन् कि उनको पार्टी जनताको आवाज बन्नेछ र सत्तामा रहेका नेताहरूलाई उत्तरदायी बनाउनेछ।
उनका अनुसार पाकिस्तानको मौजूदा राजनीतिक अवस्थाले जनस्तरमा बढ्दो असन्तुष्टि ल्याएको छ र नयाँ पार्टी त्यसैको उत्तर बन्नेछ । “हामी क्रान्तिको रूपमा होइन, सुधारको रूपमा अघि बढ्नेछौं,“ उनले स्पष्ट पारिन्।

रेहमले आफ्नो नयाँ राजनीतिक यात्रा कराँची प्रेस क्लब बाट औपचारिक रूपमा सुरु गर्ने बताइन् । उनले भनिन्, “जब म पहिलो पटक यहाँ आएकी थिएँ, तब म गम्भीर समस्यामा थिएँ, र यिनै पत्रकारहरूले मलाई समर्थन दिएका थिए । त्यसैले नयाँ घोषणा पनि यहीँबाट सुरु गर्ने निर्णय गरेकी हुँ।”

उनले पाकिस्तानमा आधारभूत सुविधाको अभावप्रति गम्भीर चिन्ता व्यक्त गरिन् । “२०१२ देखि २०२५ सम्म हामीले पेयजल, स्वास्थ्य र शिक्षा क्षेत्रमा जुन अभाव देख्यौं, त्यो अब स्वीकार्य छैन,“ उनले भनिन्।
रेहम खानले पाकिस्तानमा बढ्दो वंशवादको राजनीतिको पनि आलोचना गरिन्। उनले भने, “म मेरो राजनीतिक यात्रा कुनै शक्तिशाली समर्थन वा पारिवारिक पहिचानको आधारमा सुरु गरिरहेकी छैन। यो एक स्वतन्त्र र जनहितमा आधारित अभियान हो।”
उनको भनाइअनुसार, उनको पार्टी कुनै ठूला उद्योगपति वा सैनिक शक्तिको आडमा होइन, आम नागरिकको समर्थनमा अघि बढ्नेछ।
रेहम खानको यो कदम पाकिस्तानको राजनीतिमा नयाँ बहस र ध्रुवीकरण ल्याउने देखिन्छ । इमरान खानसँगको सम्बन्धका कारण उनी स्वतः राजनीतिक केन्द्रमा रहनेछिन्, तर अब उनले आफैंलाई एक स्वतन्त्र, महिला नेतृत्वदायी र जनसंवेदी नेतृको रूपमा स्थापित गर्ने प्रयास गरिरहेकी छन् । आगामी चुनावी राजनीति र जनतामा उनको प्रभाव कस्तो पर्छ भन्ने विषय अबको समयले देखाउनेछ ।

प्रकाशित मिति: २०८२ असार ३२, बुधवार ०७:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको