सहमति विपरीत सुवेदीलाई हटाइएको संस्थापनइत्तर समूहको आरोप



काठमाडौं, साउन १। सहमति विपरित नवराज सुवेदीलाई अनुशासन समितिको संयोजकबाट हटाइएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र आन्तरिक विवाद पुनः चुलिएको छ।

पार्टीका चारजना वरिष्ठ पदाधिकारीहरुले संयुक्त रूपमा एक विज्ञप्ति जारी गर्दै शीर्ष तहमा भएको आपसी समझदारी विपरित अनुशासन समितिका संयोजक नवराज सुवेदीलाई हटाइएको आरोप लगाएका छन्।

उनीहरुले अध्यक्ष राजेन्द्र लिङदेनले नै सुवेदीलाई पार्टीमा जिम्मेवारी दिइरहने सहमति जनाएको स्मरण गराउँदै पछिल्लो कदमलाई अनुचित र विधि विपरीतको निर्णय बताएका छन्।

विज्ञप्तिअनुसार, हालैको आन्दोलनका क्रममा पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको निवासमा बसेको शीर्ष नेतृत्वको बैठकमा सुवेदी, अध्यक्ष लिङदेन, पूर्वअध्यक्ष पशुपति शम्शेर जबरा, वरिष्ठ नेता हरिबहादुर बस्नेत लगायतको सहभागिता रहेको थियो। सो बैठकमा अध्यक्ष लिङदेनले सुवेदीलाई “पार्टीमा पूर्ववत् जिम्मेवारी वहन गर्न सशक्त भएर अघि बढ्न” आग्रह गरेका थिए।

तर सो समझदारीलाई बेवास्ता गर्दै सुवेदीलाई अनुशासन समितिको संयोजकबाट हटाउनु मात्र होइन, प्रक्रिया र पार्टी विधानको पनि उल्लंघन गरिएको उनीहरुको दाबी छ। उनीहरुको भनाइमा, यो निर्णयले गलत सन्देश प्रवाह गर्नुका साथै पार्टीको भित्री एकतालाई कमजोर बनाएको छ।

विज्ञप्तिमा विगतका केही विवादास्पद निर्णयहरुको पनि उदाहरण दिइएको छ। भारतमा क्यान्सरको उपचार गराइरहेका महामन्त्री डा. धवलशम्शेर राणालाई संगठन विभागको प्रमुखबाट हटाइएको, सगुन सुन्दर लावतीलाई पार्टी प्रवक्ता र धनसुर शाहीलाई संयोजित संगठन समन्वय विभागको सदस्य सचिव पदबाट हटाइएको कुराहरु पनि उठाइएका छन्। यी सबै निर्णयलाई विधानविपरीत र मनपरी शैलीमा गरिएको आरोप विज्ञप्तिमा गरिएको छ।

चार नेताहरुले पार्टीको मूल एजेन्डा – संवैधानिक राजसंस्था र सनातन हिन्दू अधिराज्य – प्राप्तिका लागि समर्पित भइ काम गरिरहेका नेताहरूमाथि यसरी निरन्तर कारबाही हुनु पार्टीभित्र अविश्वासको वातावरण बनाउने र आम जनमानसमा शंका पैदा गर्ने बताए।

विज्ञप्तिमा उल्लेख छ, “विधानको यस्तो खुल्ला उल्लंघन र स्वेच्छाचारी क्रियाकलापले राप्रपालाई अपूरणीय क्षति पुगेको छ।” साथै, विगतमा पनि पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको नियुक्ति तथा हटाउने काममा बारम्बार विधि र प्रक्रिया उल्लंघन हुँदै आएको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन्।

प्रकाशित मिति: २०८२ श्रावण १, बिहिवार २०:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको