एजेन्सी,
पटना, साउन २ । बिहारका मुख्यमन्त्री नितीश कुमारले आगामी विधानसभा निर्वाचनलाई लक्षित गर्दै जनतालाई ठुलो राहत दिने घोषणा गरेका छन्। सरकारले १ अगस्त २०२५ देखि लागु हुने गरी सबै घरेलु उपभोक्ताहरुलाई १२५ युनिट निःशुल्क बिजुली उपलब्ध गराउने निर्णय गरेको छ। यस निर्णयअनुसार जुलाई महिनाको बिलबाटै यो सुविधा लागु हुनेछ।
तर, सरकारको यस घोषणालाई लिएर राजनीतिक आरोप–प्रत्यारोप पनि तीव्र बनेको छ। जन सुराज अभियानका संयोजक प्रशान्त किशोर र राष्ट्रिय जनता दल (आरजेडी) का नेता तेजस्वी यादवले यसमा कडा प्रतिक्रिया दिएका छन्।
प्रशान्त किशोर : “अब नितीश कुमारको विदाई तय“
प्रशान्त किशोरले मुख्यमन्त्री नितीश कुमारमाथि निशाना साध्दै भने, “२० वर्ष सत्तामा रहेपछि जब चुनाव नजिकिएको छ, तब १२५ युनिट निःशुल्क बिजुलीको ‘ललिपप’ बाँड्ने प्रयास भइरहेको छ। तर अब जनता यी घोषणामा विश्वास गर्नेवाला छैन।“
उनले आरोप लगाए कि राज्यमा स्मार्ट प्रीपेड मिटर र गलत बिलिङ अहिलेको प्रमुख समस्या हो। प्रशान्तले भने, “बिजुली होइन, अब परिवर्तन चाहिएको छ। नितीश कुमार अब मानसिक रूपमा मुख्यमन्त्रीको रूपमा काम गर्न सक्ने अवस्थामा छैनन्।”
साथै उनले राज्यको कानून व्यवस्था, शिक्षाको अवस्था र रोजगारको अभावको विषय उठाउँदै प्रधानमन्त्री नरेन्द्र मोदीलाई आक्रोशित प्रश्न सोधे – “चौथोपटक बिहार आउँदै हुनुहुन्छ, तर शिक्षा सुधार र रोजगार सृजनाको खाका कहिले देखाउनुहुन्छ?”
तेजस्वी यादव : “नितीश सरकार नकलची हो“
अर्कातर्फ, आरजेडी नेता तेजस्वी यादवले नितीश कुमारको घोषणालाई ‘नकल’ भन्दै आलोचना गरे। उनले स्मरण गराए कि नितीशले अघिल्लो पटक भनेका थिए – ‘बिजुली निःशुल्क दिनु उचित होइन’।
तेजस्वीले भने, “हामीले पहिले नै वाचा गरेका थियौं कि हाम्रो सरकार बने २०० युनिट निःशुल्क बिजुली दिनेछ। अहिलेको सरकारसँग आफ्नो योजना र दृष्टिकोण नै छैन। उनीहरूले हाम्रो घोषणाको नकल गरे मात्र।”
उनले जनतासँग आग्रह गर्दै भने, “अब परिवर्तनको समय आएको छ। जनताले बुझ्नुपर्छ कि को नक्कली हो र को वास्तविक।”
बिहारमा विधानसभा चुनाव नजिकिँदै गर्दा सरकारले जनताका लागि राहतपुर्ण घोषणा गर्दै १२५ युनिटसम्म निःशुल्क बिजुली दिने निर्णय लिएको छ। तर विपक्षी दलहरुले यसलाई चुनावी स्टन्ट भन्दै आलोचना गरिरहेका छन्। एकातर्फ प्रशान्त किशोरले नितीशको कार्यशैली र मानसिक स्थितिमाथि प्रश्न उठाएका छन् भने अर्कातर्फ तेजस्वी यादवले ‘नकलची सरकार’ भन्दै सत्तारुढ दललाई आक्रोश व्यक्त गरेका छन्।






