चन्दन मिश्रा हत्याकांडमा पाँच शूटरको पहिचान, तौसीफ उर्फ बादशाह पनि संलग्न



एजेन्सी
पटना, साउन २ । बिहारको राजधानी पटना स्थित पारस एमएमआरआई अस्पतालमा बिहीबार बिहान भएको कुख्यात कैदी चंदन मिश्रा हत्याकांडमा प्रहरीले पाँचैजना शूटरको पहिचान गरेको छ । तीमध्ये कुख्यात अपराधी तौसीफ उर्फ बादशाहको नाम अगाडि आएको छ। प्रहरीले घटनालाई आपसी ग्याङ्गवारको नतिजा मान्दै अनुसन्धान तीव्र बनाएको छ।

बिहीबार बिहान करिब ७ः१५ बजे राजा बजारस्थित पारस अस्पतालको प्राइभेट वार्ड नम्बर २०९ मा भर्ना गरिएका कैदी चंदन मिश्रा माथि पाँच जनाको समूहले आक्रमण गर्दै गोली प्रहार गरेका थिए। सबै शूटरहरू अटोमेटिक पिस्टलसहित अस्पतालको कोठामा छिरेर केही सेकेन्डमै चंदनलाई गोली हानी फरार भए । शूटरहरूलाई अत्यन्त दुस्साहसी मानिएको छ, किनभने उनीहरूले अनुहार नछोपीकनै वारदातलाई अंजाम दिएका थिए।

पुलिसका अनुसार शूटरहरूको नाममा तौसीफ उर्फ बादशाह (फुलवारीशरीफ), मन्नू, सूरजभान, र भिंडी उर्फ बलवंत सिंह (बक्सर) छन् । सिसिटिभी फुटेज र अनुसन्धानबाट सबैको पहिचान पुष्टि भइसकेको छ। बादशाहको एक साथी दुर्घटनामा घाइते भई त्यही अस्पतालमा उपचाररत रहेको जानकारी पनि सार्वजनिक भएको छ।

पुलिसले प्रारम्भिक अनुसन्धानमा घटनालाई आपसी ग्याङ्गवार वा सुपारी किलिंगको रुपमा लिएको छ। प्रहरी सूत्रका अनुसार चंदन र तौसीफबीच पहिले जेलमा विवाद भएको थियो। चंदन मिश्रा भागलपुर जेलमा हुँदा उनले शेरू नामका अपराधीसँग झगडा पनि गरेका थिए। त्यही घटनालाई लिएर बदला लिइएको हुन सक्ने आशंका छ।

शूटरहरू बक्सरको दिशातर्फ भागेको पुष्टि भएको छ। तीन जना शूटर एकै बाइकमा देखिएका थिए, जसमा एक जनाले हेलमेट र अर्कोले मास्क लगाएका थिए। बीचमा बसेका शूटरले दुई हातले पिस्टल लहराउँदै भागेका थिए। बाँकी दुई शूटर अलग मार्गबाट फरार भएका छन्।

पुलिसले फुलवारीशरीफको खललिपुरा, गुलिस्तान मोहल्ला लगायतका स्थानमा छापा मारेको छ। साथै, बक्सर र पटना सिटीमा पनि छानविन गरि रहेको छ । एसआईटीले केही शूटरका नजिकका मानिसहरूलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ।

घटनापछि चंदनका समर्थक र परिवारजन अस्पताल पुगेका थिए। उनीहरूले प्रशासनमाथि लापरवाहीको आरोप लगाउँदै अस्पताल परिसरमा हंगामा गरेका थिए। साँझपख आक्रोशित आफन्तहरूले नेहरू पथ केहि समयका लागि अवरुद्ध गरेका थिए, जसलाई प्रहरीले हटाएको थियो।

चंदन मिश्रा हत्याकांडमा राजधानीको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ । अस्पताल जस्तो सुरक्षित स्थलमा खुलेआम अपराध भएकाले प्रशासन र सुरक्षाकर्मीहरूको भूमिकामाथि आलोचना भइरहेको छ। पाँचै शूटरको पहिचान भइसकेकाले प्रहरीले छिट्टै गिरफ्तारीको आश्वासन दिएको छ।

प्रकाशित मिति: २०८२ श्रावण २, शुक्रबार ०७:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको