रौतहटमा तीन लाख नेपाली रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ



रौतहट, साउन २ । रौतहट प्रहरीले स्रोत खुल्न नसकेको तीन लाख नेपाली रुपैयाँसहित एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। भारतबाट नेपालमा ल्याउँदै गरेको उक्त रकमसहित महेश कुमार नाम गरेका ४३ वर्षीय भारतीय नागरिक पक्राउ परेका हुन्।

प्राप्त जानकारी अनुसार, पक्राउ परेका महेश कुमार भारतको बिहार राज्य अन्तर्गत सीतामढी जिल्लाको बैरगनिया नगर पंचायत वडा नम्बर १३, बाबालाल दास मठ निवासी हुन्। उनलाई जिल्ला प्रहरी कार्यालय रौतहटअन्तर्गतको टोलीले गौर नगरपालिका वडा नम्बर २ स्थित महादेव पट्टिबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक कुमार रायका अनुसार, शंकास्पद गतिविधि देखिएपछि प्रहरीले चेकजाँच गर्दा महेश कुमारको साथमा लुकाएर राखिएको तीन लाख नेपाली रुपैयाँ फेला पारेको हो। प्रारम्भिक अनुसन्धानका क्रममा सो रकमको वैध स्रोत खुलाउन माग गरिएको भए पनि उनले स्रोत खुलाउन नसकेको प्रहरीको दाबी छ।

प्रहरीले बरामद गरेको रकमसहित महेश कुमारलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ। उक्त रकम अवैध रुपमा नेपाल भित्र्याइएको आशंकामा प्रहरीले उनलाई प्रारम्भिक रुपमा पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला भन्सार कार्यालयमा बुझाएको छ।

नेपाल-भारत सीमावर्ती क्षेत्रहरूमा अवैध रकम तथा समान ओसारपसारको गतिविधि बढिरहेको सन्दर्भमा प्रहरीले चेकजाँचलाई कडा बनाएको छ। सीमामा हुने गैरकानुनी आर्थिक कारोबारले राज्यको राजस्वमा गम्भीर असर पार्ने भएकाले यस्ता कार्यहरूलाई नियन्त्रणमा लिनका लागि प्रहरी प्रशासन सतर्क रहेको बताइएको छ।

प्रहरी स्रोतका अनुसार, पछिल्ला दिनहरूमा सीमावर्ती क्षेत्रहरूमा शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरूमाथि निगरानी बढाइएको छ। आर्थिक कारोबार तथा विप्रेषणको नाममा रकम भित्र्याउने र बाहिर पठाउने कार्यमा संलग्न समूहहरूमाथि कारबाही कडा पारिने तयारी भइरहेको समेत बताइएको छ।

यस घटनाले सीमामा हुने अनधिकृत कारोबार र सीमा सुरक्षामा थप सतर्कता आवश्यक रहेको संकेत गरेको छ। प्रहरी प्रशासनले जनताको सहयोग र सूचनाको आधारमा यस्ता गतिविधिमा संलग्नलाई पहिचान गरी कारबाही अगाडि बढाउने जनाएको छ।

प्रकाशित मिति: २०८२ श्रावण २, शुक्रवार २०:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको