एजेन्सी, साउन २ । रूसका पूर्व राष्ट्रपति तथा सुरक्षा परिषद्का उपप्रमुख दिमित्री मेदवेदेवले पश्चिमी देशहरुलाई रुसी हमलाको लागि तयार रहन चेतावनी दिएका छन। उनले भनेका छन्, “यदि युक्रेनलाई आक्रामक हतियार दिन जारी राखे र युद्ध अझ जटिल बन्यो भने, पश्चिमी देशहरुलाई रूसी हमला झेल्न तयार रहनु पर्नेछ ।“
अमेरिकाले नेतृत्व गरेको सैन्य गठबन्धन नाटोप्रति कडा टिप्पणी गर्दै मेदवेदेवले नाटोलाई “बकवास संस्था“ भनेका छन्। उनका अनुसार, पश्चिमी नेताहरूको सोच र रणनीति गैरजिम्मेवार र मूर्खतापूर्ण छ।
रूसी सरकारी समाचार एजेन्सी टिएएसएस लाई दिएको अन्तर्वार्तामा मेदवेदेवले भने, “हाललाई रूससँग कुनै पनि नाटो सदस्य मुलुकमाथि हमला गर्ने योजना छैन।“ तर उनले चेतावनी दिए कि यदि स्थिति नियन्त्रणबाहिर गयो र रूसलाई खतरा महसुस भयो भने, “हामी पूर्ण बल प्रयोग गरेर जवाफ दिनेछौं।“
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस–युक्रेन युद्ध अन्त्य गर्न ५० दिनको समयसीमा तय गरेका छन्। उनले स्पष्ट रूपमा भनेका छन्, यदि शान्ति सम्झौता भएन भने, अमेरिका रूसमाथि कडा आर्थिक प्रतिबन्ध लगाउनेछ।
साथै ट्रम्प प्रशासनले युक्रेनलाई आक्रमण गर्ने क्षमता भएका हतियार उपलब्ध गराउने घोषणा समेत गरिसकेको छ। यस खर्चको बोझ युरोपेली देशहरूले व्यहोर्ने बताइएको छ।
क्रेमलिनले मेदवेदेवको भनाइलाई पूर्व राष्ट्रपतिको व्यक्तिगत अभिव्यक्ति भनेको छ। यद्यपि, क्रेमलिनका अनुसार युरोपको टकरावपूर्ण वातावरणप्रति उनले चिन्ता व्यक्त गरेका छन्। मेदवेदेव हाल रूसको सुरक्षा परिषद्का उपप्रमुखको रूपमा कार्यरत छन्।
अमेरिकाले स्विट्जरल्याण्डमा निर्मित पैट्रियट एयर डिफेन्स सिस्टम युक्रेनमा पठाउने तयारी गरिरहेको छ। युक्रेनलाई रूसी हवाई हमलाबाट जोगाउन यस प्रणालीको आपूर्ति गरिने भएको हो। साथै, अमेरिकाले युक्रेनका लागि १३०० किलोमिटर दूरीसम्म मार गर्न सक्ने ड्रोन खरिद गर्नेसम्बन्धी विचार गरिरहेको छ।
युक्रेनी राष्ट्रपति वोलोदिमिर जेलेंस्कीले यूलिया सेरिडेंकोलाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। पूर्व वित्त मन्त्री रहेकी यूलिया अब अमेरिका र अन्य देशहरूसँग हुने खनिज तथा रणनीतिक सहकार्यका वार्ताहरूको नेतृत्व गर्नेछिन्।
रूस र युक्रेनले इस्तानबुलमा भएको एक सहमति अनुसार बिहीबार एक–अर्काका युद्धमा मारिएका सैनिकहरूको शवहरू साटासाट गरेका छन्। यो मानवीय कदमलाई दुबै देशबीच संवादको ढोका खुल्ला राख्ने प्रयासको रूपमा हेरिएको छ।




