पटनामा ‘ बिहारमे का बा ? ’को पोस्टर, राजदको निशानामा नीतीश सरकार



एजेन्सी
पटना, साउन ३ । बिहारको राजधानी पटनामा ‘ बिहारमे का बा ? ’ को पोष्टरले आसन्न विधानसभाको चुनावी राजनीतिलाई तताएको छ । सत्तारूढ नीतीश कुमार सरकारलाई लक्षित गर्दै राष्ट्रीय जनता दल (राजद) ले राजधानी पटना भरि विवादास्पद पोस्टरहरू टाँसेको छ । ‘बिहारमे का बा?’ शीर्षकमा सार्वजनिक यी पोस्टरहरूले राज्यमा बढ्दो अपराध र शासक दलका नेताहरूको आचरणलाई देखाउँदै सरकारको आलोचना गरिएको छ।

राजदका कार्यकर्ताहरूले टाँसेका पोस्टरहरूमा दुई मुख्य विषय उठाइएको छ —

एकातिर पारस अस्पतालको आईसीयू वार्डभित्र भएको हत्या घटनालाई देखाइएको छ भने, अर्कातिर केन्द्रीय मन्त्री ललन सिंहको सावन महिना भएपनि मटन पार्टी आयोजना गरेको प्रसंगलाई देखाइएको छ । पोस्टरमा यी दुई विषयलाई एउटै फ्रेममा राखेर जनमानसमा सरकारप्रति प्रश्न खडा गर्ने प्रयास गरिएको छ।

यी पोस्टरहरू राजदका विधायक सनत कुशवाहा, जो कुढ़नी विधानसभा–९३ बाट निर्वाचित छन्, तिनको अगुवाइमा टाँसिएको बताइएको छ। कुशवाहाले पोस्टरमार्फत जनता समक्ष राज्य सरकारको ‘दोहोरो चरित्र’ प्रस्तुत गर्न खोजिएको बताए।
“एकातिर अस्पताल जस्तो संवेदनशील स्थानमा हत्या भइरहेको छ भने अर्कातिर मन्त्रीज्यूहरू धार्मिक महिना सावनमा मटन पार्टी गर्दै छन्,” कुशवाहाले भने।

यो पोस्टर प्रकरण नयाँ भने होइन। यसअघि, १५ जुलाईमा पनि पटना शहरका विभिन्न चौक–चौराहामा ‘बिहारमा गुंडाराज’ शीर्षकका पोस्टर टाँसिएका थिए। ती पोस्टरमा राज्यमा हालैका ८ वटा हत्या घटनाहरूको विवरण दिइएको थियो।

राजदले लगातार यस्ता पोस्टरमार्फत जनता माझ सरकारको विफलता र अपराध नियन्त्रणमा देखिएको कमजोरीलाई उजागर गर्ने रणनीति लिएको देखिन्छ। विपक्षी पार्टीको आरोप छ कि नीतीश सरकार अपराध नियन्त्रणमा पूर्ण असफल भएको छ।

यस पोस्टर प्रकरणमा अहिले सम्म बिहार सरकारको आधिकारिक प्रतिक्रिया आएको छैन। तर सत्तारूढ जनता दल युनाइटेड (जेडीयू) का कतिपय नेताहरूले व्यक्तिगत रूपमा सामाजिक सञ्जालमा यस्ता आलोचनालाई ‘राजनीतिक नौटंकी’ भन्दै खण्डन गरेका छन्।

यता, राजद कार्यकर्ताहरूले भने यस्ता अभियानलाई आगामी चुनावसम्म निरन्तरता दिने बताएका छन्। उनीहरूको भनाइ छ, “सरकारलाई आइना देखाउनु हाम्रो दायित्व हो, जनता जागरुक बनाउनु हाम्रो धर्म।”

प्रकाशित मिति: २०८२ श्रावण ३, शनिबार ०८:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको