एजेन्सी, साउन ३ । शनिबार बिहान अफगानिस्तान र म्यानमारमा लगातार भूकम्पका झट्का महसुस गरिएको छ ्। अफगानिस्तानमा एकै रात दुई पटक भूकम्प गएको जानकारी राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले दिएको छ । भूकम्पपछि अफगानी जनजीवनमा त्रास फैलिएको छ।
राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार अफगानिस्तानमा गए राति १ः२६ बजे पहिलो भूकम्प गएको थियो, जसको तीव्रता रिक्टर स्केलमा ४.२ मापन गरिएको छ । यो भूकम्प १९० किलोमिटर गहिराइमा केन्द्रित थियो।
त्यसको केही समयपछि, दोस्रो भूकम्प २ः११ बजे गएको थियो, जसको तीव्रता ४.० मापन गरिएको छ। लगातार दुई पटक जमिन हल्लिएपछि स्थानीयवासीहरू घर बाहिर निस्किएर खुला स्थानमा पुगेका थिए। हालसम्म कुनै ठूला जनधनको क्षतिको विवरण आएको छैन, तर मानिसहरूबीच भय र आशंका देखिएको छ।
अफगानिस्तान मात्र नभई शनिबार बिहान म्यानमारमा पनि भूकम्प महसुस गरिएको छ। शनिबार बिहान ३ः२६ बजे म्यानमारमा गएको भूकम्पको तीव्रता ३.७ रहेको एनसीएसले जनाएको छ।
यो भूकम्प १०५ किलोमिटरको गहिराइमा केन्द्रित थियो। भूकम्प सानो भए पनि म्यानमारका केही क्षेत्रमा जमिन हल्का हल्लिएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन्।
जनतामा त्रासको माहोल
लगातार रातको समयमा भूकम्पका झट्का महसुस हुँदा अफगानिस्तान र म्यानमारका स्थानीयहरू झस्किएका छन्। विशेषगरी अफगानिस्तानजस्तो भूकम्पप्रवण क्षेत्रमा राति झट्का आउनु मानिसहरूका लागि थप चिन्ताजनक भएको बताइन्छ। धेरै मानिस घर बाहिर खुलेको स्थानमा बसेको रिपोर्टहरू आएका छन्।
भूकम्पविद्हरूका अनुसार जमिनभित्र भइरहेका यस्ता हलचलहरू आगामी दिनमा ठूलो भूकम्पको संकेत हुन सक्ने सम्भावना पनि रहन्छ। त्यसैले जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका नागरिकहरूलाई सतर्क र तयारी अवस्थामा रहन सुझाव दिइएको छ।
अफगानिस्तान र म्यानमारका आपतकालीन सेवाहरूले तत्काल प्रभावित क्षेत्रको निगरानी गरिरहेको र सम्भावित क्षतिको मूल्याङ्कन जारी रहेको जनाइएको छ।




