एजेन्सी, साउन ३ । मध्यपूर्वमा लामो समयदेखि जारी तनावबीच इजरायल र सिरिया युद्धविरामका लागि सहमत भएका छन् । तुर्किएस्थित अमेरिकी राजदूत टॉम बैरकले इजरायल र सिरिया युद्धविरामका लागि सहमत भएको जानकारी दिएका हुन । अमेरिकी पहलमा भएको यो सहमतिलाई जॉर्डन र तुर्किएले समेत समर्थन जनाएको छ।
राजदूत बैरकले सिरियाली लडाकू समूहहरूलाई शान्ति कायम गर्न हथियार नउठाउन आह्वान गरेका छन् । उनले सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर) मा लेख्दै भनेका छन्, “हामी ड्रूज, बेडोइन र सुन्नी समुदायका नागरिकहरूलाई आग्रह गर्दछौं कि सबैले हथियार राखून् । अब नयाँ सिरिया बनाउने बेला आएको छ, जुन शान्ति र समृद्धिको मार्गमा अघि बढोस्।”
उनको भनाइमा, सिरियाका सबै जातीय र धार्मिक समुदायहरू मिलेर शान्तिपूर्ण सहअस्तित्व को आधार तयार गर्नुपर्ने बेला आएको छ।
टॉम बैरकका अनुसार, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र सिरियाका नयाँ नेता अहमद अल–शराआबीच युद्धविराममा लिखित सहमति भएको हो। दुबै पक्षले पछिल्लो तनावलाई रोक्दै कूटनीतिक संवादको बाटो रोज्ने वाचा गरेका छन्।
केही दिनअघि मात्र इजरायलले बुधबार सिरियाको राजधानी दमास्कसमा हवाई हमला गरेको थियो। उक्त हमलामा सिरियाली सेनाको मुख्यालय समेत निशानामा परेको थियो।
इजरायली वायुसेनाले गरेको तीव्र बमबारीबाट राजधानीमा ठूलो क्षति पुगेको थियो। यस हमलापछि मध्यपूर्वमा स्थिति झनै तनावपूर्ण बनेको थियो।
इजरायलले आक्रमणको कारणबारे स्पष्टीकरण दिँदै भनेको छ कि उनीहरूले दक्षिण सिरियामा अल्पसंख्यक बनेका ड्रूज समुदायलाई बेडोइन समुदायबाट जोगाउन आक्रमण गरेको हो।
सिरियाको दक्षिणी क्षेत्रमा यी दुई समुदायबीच पछिल्लो समय जातीय संघर्ष चर्किएको छ। इजरायलले आफू ड्रूज समुदायको सुरक्षा र अधिकारका लागि खटिएको दाबी गरेको छ।
सिरिया र इजरायलबीच वर्षौंदेखिको वैर र युद्धका सन्दर्भमा यो युद्धविरामलाई एक सकारात्मक संकेतको रूपमा हेरिएको छ। विश्लेषकहरूका अनुसार, यदि यो सहमति टिकाउ बन्न सक्यो भने यसले सम्पूर्ण मध्यपूर्वमा शान्ति र स्थिरताको नयाँ अध्याय सुरु गर्न सक्छ।




