सिरहा कारागारमा झडप, १३ जना घाइते



जनकपुरधाम, साउन ४ । सिरहा जिल्लाको सदरमुकामस्थित कारागारमा आइतबार दिउँसो कैदीबन्दीहरूबीच भएको झडपमा १३ जना घाइते भएका छन्। कारागार प्रशासनले रोक्न खोज्दा उत्पन्न तनाव झडपमा परिणत भएको हो।

प्राप्त जानकारी अनुसार कारागारका नाइके दीपक ठाकुर, मूलनाइके वरुण महतो, चौकीदार विजय महतोसहितका कैदीहरू झडपमा घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि प्रदेशिक अस्पताल सिरहा पठाइएको प्रहरीले जनाएको छ।

झडपपछि कारागार परिसर तनावग्रस्त बनेको छ। स्थिति नियन्त्रणमा लिनका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। झडप किन र कसरी सुरु भयो भन्ने विषयमा स्पष्ट विवरण आइसकेको छैन।

सिरहा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी वीरेन्द्र पासवानले घटनाबारे विस्तृत जानकारी नभएको जनाए। ूम अहिले अस्पतालमा घाइतेको अवस्थाबारे बुझ्न आएको छु। घटनाबारे आधिकारिक जानकारी लिन सीडीओ सँग सम्पर्क गर्नु होला,ू डीएसपी पासवानले भने।

तर सिरहाका प्रमुख जिल्ला अधिकारी ९सीडीओ० विश्वप्रकाश अर्यालसँग सम्पर्क गर्न खोज्दा सफल हुन सकेन।

कारागार स्रोतका अनुसार, केही कैदीहरूले सुरक्षामा असर पुर्‍याउने किसिमका सामान—जसमा इँटा र अन्य कठोर सामग्री—भित्र लगेका थिए। कारागार प्रशासनले ती सामान हटाउन निर्देशन दिएपछि विवाद सुरु भएको हो। त्यही विवादले उग्र रूप लिँदै झडपमा परिणत भएको जनाइएको छ।

शनिबारमात्रै स्थानीय प्रशासनले सिरहा कारागारमा अनुगमन गरेको थियो। कैदीबन्दीहरूबीच अवैध गतिविधि भइरहेको गुनासो आएपछि अनुगमन गरिएको बताइएको छ।

सिरहा कारागारको क्षमता २०० जनाको मात्र हो तर हाल उक्त कारागारमा ४५८ जना कैदीबन्दी रहेका छन्। क्षमताभन्दा दोब्बर बढी कैदी राखिँदा व्यवस्थापनमा चुनौती आएको देखिन्छ।

यस घटनाले कारागारभित्रको सुरक्षा अवस्था र व्यवस्थापनप्रति प्रश्न उठाएको छ। बारम्बार यस्ता विवाद र झडप भइरहँदा राज्यका तर्फबाट प्रभावकारी निगरानी र सुधारको खाँचो देखिएको छ।

प्रहरी र प्रशासनले घटनाको विस्तृत अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने जनाए पनि अहिले सम्म आधिकारिक धारणा सार्वजनिक भएको छैन।

स्थानीय समाजसेवी र अधिकारकर्मीहरूले सिरहा कारागारमा भीडभाड र अव्यवस्थित अवस्थाले झनै हिंसात्मक घटना निम्त्याउने चेतावनी दिएका छन्। उनीहरूले राज्यको ध्यान कारागार सुधारतर्फ जान आवश्यक रहेको बताए।

प्रकाशित मिति: २०८२ श्रावण ४, आईतवार १७:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको