पाकिस्तानको खैबर पख्तूनख्वामा पाँच आतङ्ककारी मारिए, सेनाका एक अधिकृतसहित तीन घाइते



एजेन्सी, साउन ४ । पाकिस्तानको खैबर पख्तूनख्वा प्रान्तमा सुरक्षाबल र प्रहरीको संयुक्त आतंकवाद विरोधी अभियानमा पाँच जना आतङ्ककारी मारिएका छन् । शनिबार (१९ जुलाई २०२५) भएको यस अभियानमा पाकिस्तानी सेनाका एक मेजर र दुई प्रहरी अधिकारी घाइते भएका छन्।

पुलिसका अनुसार, खैबर पख्तूनख्वाको हंगू जिल्लास्थित शिनावरी जरगारी क्षेत्रमा आतंककारीहरू लुकेको सूचना प्राप्त भएपछि सुरक्षाबलले विशेष अपरेशन सुरु गरेको थियो।

विश्वसनीय खुफिया जानकारीको आधारमा सुरक्षा बल र स्थानीय प्रहरीले संयुक्त रूपमा सर्च अपरेशन थालेका थिए।

अपरेशनको क्रममा दुबै पक्षबीच भीषण गोली हानाहान भएको थियो। सेनाको मेजर र दुई जना प्रहरी अधिकृतहरू गोली लागेर घाइते भएका छन्।

घाइतेहरूलाई नजिकैको अस्पतालमा उपचारका लागि पठाइएको छ भने उनीहरूको अवस्था हाल स्थिर रहेको बताइएको छ।
प्रहरीका अनुसार आतंककारीहरू लुकेका हुनसक्ने अरू सम्भावित क्षेत्रमा पनि सर्च अपरेशन जारी छ। सुरक्षाबल उच्च सतर्कताका साथ हंगू क्षेत्र वरपरका संवेदनशील ठाउँहरूमा गस्ती बढाइएको छ।

प्रहरी अधिकारीले बताए अनुसार, “हामीसँग अझै केही संदिग्ध व्यक्तिहरूको जानकारी छ, त्यसैले खोजी कार्य जारी रहनेछ।“
पछिल्लो केही महिनादेखि पाकिस्तानको खैबर पख्तूनख्वा र बलुचिस्तान क्षेत्र आतङ्कवादी गतिविधिहरूको केन्द्र बन्दै गएको देखिएको छ ।
विशेषगरी तालिबान समर्थित संगठनहरू, टीटीपी (तेहरीक–ए–तालिबान पाकिस्तान) लगायतका समूहहरू यस क्षेत्रमा सक्रिय रहेको आशंका छ।

पाकिस्तानी सेनाले यस घटनालाई लिएर कडा प्रतिक्रिया जनाएको छ। सेना प्रवक्ताले एक विज्ञप्तिमा भनेका छन्, “राष्ट्रको सुरक्षाका लागि हामी कुनै पनि किसिमको सम्झौता गर्नेछैनौं। आतङ्कविरुद्धको हाम्रो लडाइँ जारी रहनेछ।“

पछिल्ला केही घटनाक्रम हेर्दा पाकिस्तानको सीमावर्ती क्षेत्रहरू, विशेषगरी अफगानिस्तानसँग जोडिएका प्रान्तहरूमा आतङ्कवादी नेटवर्कहरू फेरि सक्रिय बन्दै गएको देखिन्छ।
यसले पाकिस्तानको आन्तरिक सुरक्षा रणनीति र खुफिया संयन्त्रमाथि पनि गम्भीर प्रश्नहरू उठाएको छ ।

प्रकाशित मिति: २०८२ श्रावण ४, आइतवार ०८:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको