एजेन्सी, साउन ५ । आगामी बिहार विधानसभा चुनावका लागि सक्रिय रहँदै आएका भारतीय जनता पार्टी (भाजपा) का धेरैजसो वरिष्ठ नेताहरू लाई पार्टी नेतृत्वले जिल्लाको प्रभारी बनाएपछि ती नेताहरूबीच असन्तुष्टि बढेको छ । कतिपय नेताहरूले प्रदेश उपाध्यक्ष, प्रदेश मन्त्री तथा विभिन्न मोर्चाका प्रदेश अध्यक्षजस्ता महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन्, तर अहिले उनीहरूलाई पुराना अधीनस्थ कार्यकर्ताहरूको मातहत काम गर्नुपर्ने स्थिति आएको छ ।
पार्टीले ५२ संगठनात्मक जिल्लामा नयाँ जिम्मेवारी बाँडफाँड गर्दा धेरै नेताहरूलाई जिल्लाको प्रभारी बनाएको छ । तर, केही नेताहरूले सिधै नेतृत्वलाई भनेर र केहीले परोक्ष रूपमा उक्त जिम्मेवारी अस्वीकार गर्ने सन्देश दिएका छन् । उनीहरूको गुनासो छ— लामो समय पार्टी सेवा गरेपछि यस्तो व्यवहार हुनु अपमानजनक हो । वरिष्ठताप्रति बेवास्ता भएको भन्दै केही नेताहरू आहत छन्।
केही नेताहरूको भनाइ छ कि— उनीहरूले तीनदेखि साढे तीन दशकसम्म पार्टी सेवा गरेका छन्। अहिले पनि संगठन र नेतृत्वबाट आशा गरेका छन् कि आगामी चुनावमा उनीहरूको नाममा विचार हुनेछ। त्यसअघिसम्म उनीहरूले संगठनले दिएको जिम्मेवारीमा आफ्नो अनुभव र दक्षताको शतप्रतिशत योगदान दिने बताएका छन् । यस्तै, धेरै नेताहरूले चुनाव लड्न चाहेका क्षेत्रहरूमा निरन्तर जनसम्पर्कमा रहेकाले पार्टी नेतृत्वलाई समेत जानकारी गराइसकेका छन्। अब तिनले उचित समय र अवसरको पर्खाइ गरिरहेका छन्।
भाजपाले पार्टीका धेरै पूर्व पदाधिकारी, कार्यकर्ता तथा नेताहरूलाई सरकारका तर्फबाट नवगठित आयोग, बोर्ड तथा निगमहरूमा विभिन्न पदमा नियुक्त गरेको थियो। तर, तीमध्ये धेरै नेताहरूले आफुलाई दिइएको जिम्मेवारी अस्वीकार गरेका छन्।
वरिष्ठ नेताहरू को भनाइ छ— पाएको पद आफ्नो योगदान तथा कदको तुलनामा सम्मानजनक छैन। त्यसैले उनीहरूले पद ग्रहण गर्न अस्वीकार गरेका हुन्। कतिपयले यसलाई ’राजनीतिक अपमान’का रूपमा व्याख्या गरिरहेका छन्।
पार्टीभित्र बढ्दो असन्तोष, वरिष्ठ नेताहरूको बेवास्ता, र चुनावी आशामाथिको अन्योलले गर्दा आगामी दिनहरूमा भाजपा भित्रको समिकरण कस्तो हुनेछ भन्ने चासो व्यापक रूपमा उठ्न थालेको छ। नेतृत्वले अब यी असन्तुष्ट नेताहरूलाई कसरी समेट्छ भन्नेमा सबैको नजर केन्द्रित भएको छ।






