परमाणु वार्ताका लागि तयार ईरान



एजेन्सी, साउन ५ । ईरानले आफ्नो परमाणु कार्यक्रमबारे युरोपेली राष्ट्रहरू वार्ताका लागि तयार भएका छन । इरानले बेलायत, फ्रान्स र जर्मनी (ई–३) सँग वार्ताको संकेत दिएको छ। तसनीम समाचार एजेन्सीका अनुसार, वार्ता आउँदो हप्तामा हुन सक्ने सम्भावना रहेको छ । तीन युरोपेली देशहरूले वार्ता पुनः सुरु नभए अन्तर्राष्ट्रिय प्रतिबन्ध पुनस्र्थापित गर्ने चेतावनी दिएपछि ईरान वार्ताका लागि तयार भएका हुन ।

तसनीमले आफ्नो रिपोर्टमा एक स्रोतलाई उद्धृत गर्दै लेखेको छ कि वार्ताका सिद्धान्तहरूमा सहमति बनिसकेको छ । यद्यपि वार्ता कहिले, कहाँ हुने भन्ने विषयमा परामर्श अझै जारी रहेको छ । यस्तो संकेत गरिएको छ कि वार्ता आउँदो हप्तामै हुन सक्नेछ, तर देश र स्थान अझै टुंगो लागिसकेको छैन।

ई–३ राष्ट्रहरूले स्पष्ट गरेका छन् कि यदि अमेरिका र ईरानबीचको अघिल्लो परमाणु सम्झौता पुनः बहाल गर्न वार्ता सुरु भएन वा त्यो कुनै ठोस निष्कर्षमा पुग्न सकेन भने उनीहरूले आगामी अगस्तको अन्त्यसम्म ईरानमाथि संयुक्त राष्ट्रसंघको प्रतिबन्ध पुनः लागू गर्नेछन् ।
ईरानी अधिकारी अब्बास अराघचीले केही दिनअघि भनिसकेका छन्, “यदि युरोपेली संघ वा ई–३ मुलुकहरूले वास्तवमै सकारात्मक भूमिका निर्वाह गर्न चाहन्छन् भने उनीहरूले धम्की र दबाबको पुरानो नीति त्याग्नु आवश्यक छ ।” उनले युरोपेली पक्षबाट जिम्मेवार र निष्पक्ष व्यवहारको अपेक्षा गरेका छन्।

अर्कोतर्फ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन् कि यदि ईरानले कुनै नयाँ परमाणु स्थापनाको निर्माण गर्न खोज्यो भने ती सबैलाई पूर्णरूपमा ध्वस्त पारिनेछ। उनले दाबी गरेका छन् कि जुन महिनामा अमेरिकी हमलाले ईरानका तीन प्रमुख परमाणु स्थलहरू पूर्णरूपमा नष्ट गरिसकेको छ र ती पुनः निर्माण गर्न वर्षौं लाग्नेछ।

ईरानका राष्ट्रपति मसूद पेजेश्कियनले भनेका छन्, “हामी हाम्रो देशको सार्वभौम अधिकारअनुसार शान्तिपूर्ण उद्देश्यका लागि परमाणु उर्जा उपयोग गर्ने अधिकारबाट पछि हट्ने छैनौं।” उनले अन्तर्राष्ट्रिय समुदायलाई स्पष्ट गरेका छन् कि ईरानको परमाणु कार्यक्रम केवल ऊर्जा उत्पादन, चिकित्सा र वैज्ञानिक अनुसन्धानमा केन्द्रित छ।

प्रकाशित मिति: २०८२ श्रावण ५, सोमवार ०८:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको