एजेन्सी
पटना, साउन ४ । जन सुराज अभियानका अगुवा प्रशांत किशोरले आफुलाई कुनैपनि निजी सुरक्षाको आवश्यकता नरहेको र जनताले नै आफनो सुरक्षा गर्ने बताएका छन ।
गोपालगञ्जमा आइतवार पत्रकारहरूसँग कुरा गर्दै किशोरले भने “हामी तीन वर्षदेखि बिहारका गाउँ–गाउँमा घुमिरहेका छौँ र हामीले निर्णय गरेका छौँ कि मलाई कुनैपनि निजी सुरक्षाको आवश्यकता छैन , हामी कुनै सुरक्षा बिना नै जनतामाझ पुग्नेछौँ। मलाई पूर्ण विश्वास छ कि मेरो सुरक्षा बिहारको जनता आफैले गर्नेछ ।”
प्रशांत किशोरले राज्यको वर्तमान कानुनी अवस्थामाथि गम्भीर प्रश्न उठाउदै प्रहरी प्रशासन अवैध कारोबारमा संलग्न रहेको र मदिरा माफियाहरूसँग मिलेर भ्रष्टाचारमा लिप्त रहेको बताए । किशोरले भने, “जबसम्म प्रहरी र माफियाबीचको साँठगाँठ कायम रहन्छ, तबसम्म बिहारमा कानूनको शासन सम्भव छैन।”
पूर्वी चम्पारणको भ्रमणका क्रममा किशोरले भने, “बिहारका जनताले अब लालू प्रसाद, नीतिश कुमार र प्रधानमन्त्री नरेन्द्र मोदीबाट मुक्ति चाहिरहेका छन्।” यही स्थानबाट उनले आफ्नो पदयात्रा सुरु गरेका थिए र आज पनि उनी यही मार्गमा हिँडिरहेका छन् । “कहिल्यै घुँडासम्म बालुवाले ढाकिएको बाटोमा आज म जनसागर देख्दै छु । यसले प्रमाणित गर्छ कि जनताले परिवर्तन चाहिरहेका छन्,” उनले भने।
आगामी बिहार विधानसभा चुनाव प्रशांत किशोर र उनको जन सुराज पार्टीका लागि एक ऐतिहासिक मौका बन्ने अपेक्षा गरिएको छ । किशोरको दाबी छ कि अब बिहारमा नयाँ विचार, नया नेतृत्व र जनताको इच्छा अनुसार परिवर्तनको समय आएको छ।
बिहारमा आगामी विधानसभा चुनाव अक्टोबर वा नोभेम्बर २०२५ मा हुने अपेक्षा गरिएको छ, यद्यपि निर्वाचन आयोगले आधिकारिक मिति घोषणा गर्न बाँकी नै छ।
जन सुराज पार्टीको मुख्य नारा जनसरोकार, पारदर्शिता र स्वच्छ शासन रहेको किशोर बताउँछन्। उनले थपे, “हामी सरकार होइन, संस्कार परिवर्तन गर्न आएका हौं।”




