बेगूसरायका कुख्यात अपराधी हरेराम पासवानको गोली हानी हत्या



एजेन्सी, साउन ६ । बेगूसराय जिल्लाको डन्डारी थाना क्षेत्रमा सोमबार राति एक कुख्यात अपराधी हरेराम पासवानको गोली हानी हत्या गरिएको छ। बुढी गण्डक नदीको किनारमा साथीहरु संग गफिदै गरेको बेला मोटरसाइकलमा आएका दुई जनाले ४२ वर्षीय पासवानको टाउकोमा तीन राउन्ड गोली हानी फरार भएका थिए।

माछा मार्ने व्यवसायसम्बन्धी पुरानो विवादको कारण हत्या गरिएको प्रहरीको अनुमान छ । घटनापछि आसपासका क्षेत्रमा त्रासको वातावरण सिर्जना भएको छ।

घटनापछि स्थानीयहरू आक्रोशित बनेका थिए । डन्डारी थाना प्रहरी घटनास्थलमा पुग्दा आक्रोशित भीडले प्रहरीमाथि ढुंगामुढा गरेको थियो, जसमा थानाध्यक्ष विवेक कुमार घाइते भएका छन्। भीड यति उग्र बनेको थियो कि मृतकको शव उठाउनसमेत अवरोध गरेको थियो । पछि प्रहरीको ठूलो बल प्रयोग गरी शवलाई पोष्टमार्टमका लागि पठाइएको थियो ।

प्रहरीका अनुसार हरेराम पासवान डन्डारी र नीमा चाँदपुरा थाना क्षेत्रका विभिन्न आपराधिक मामिलामा संलग्न थिए। उनीमाथि थुप्रै मुद्दा दर्ता रहेका थिए र उनी कुख्यात अपराधीको रूपमा चिनिन्थे ।

घटनापछि बलिया डीएसपी रञ्जीत कुमारसहित विभिन्न थानाका प्रहरीहरू घटनास्थलमा पुगेका थिए। फरेन्सिक विज्ञान प्रयोगशालाको टोलीले घटनास्थलमा प्रमाण संकलन गरिरहेको छ। एसपी मनीषले घटनाको गहिराइमा पुगेर अनुसन्धान भइरहेको र दोषीहरूलाई चाँडै पक्राउ गर्न विशेष टोली गठन गरिएको जानकारी दिए।

प्रहरीमाथिको आक्रमण र हत्या प्रकरणले डन्डारी क्षेत्र तनावग्रस्त बनेको छ। कुनै अप्रिय घटना नहोस् भनेर सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रशासनले नागरिकलाई संयमता अपनाउन अपिल गर्दै शान्ति सुव्यवस्था कायम राख्न सक्रियता बढाएको छ।

प्रकाशित मिति: २०८२ श्रावण ६, मंगलवार ०८:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको