रौतहटमा शंकास्पद अवस्थामा गाडी बरामद, गाडीभित्र ठूलो परिमाणमा गाँजा रहेको आशंका



ओम प्रकाश यादव
रौतहट, साउन ६ । रौतहटमा शंकास्पद अवस्थामा एउटा गाडी बरामद भएको छ। गाडी भित्र प्रतिबंधित लागू औषध गाँजा रहेको आशंका गरिएको छ।

जिल्लाको गरुडा नगरपालिका -५ झाझपुल स्थित चेकजाँचको क्रममा आज बिहान ९ बजेको समयमा ग ३ च ६८९६ नम्बरको नेपाली नम्बर प्लेट भएको रातो रंगको गाडी बरामद भएको छ।

चन्द्रनिगाहपुर तिरबाट गौर तर्फ जाँदै गरेको उक्त गाडीका चालक प्रहरीलाई हेर्ने बितिक्कै गाडी छाडेर फरार भएका थिए।

झाझपुल स्थित गौर चन्द्रनिगाहपुर सडकखण्डमा ट्राफिक प्रहरीले सवारी साधनलाई चेकजाँच गर्दै थिए । सोही क्रममा उक्त गाडीका चालक प्रहरीलाई हेर्ने साथ गाडी छाडेर फरार भएका छन् ।

प्रहरीबाट जोगिन चालकले गाडी चपुर तरफ नै मोडेर भाग्न खोजेका थिए । गाडी मोड्ने क्रममा अचानक सडक छेउमा रहेको खाल्डोमा गाडी खसेपछि चालक फरार भएका थिए।

त्यसपछि इलाका प्रहरी कार्यालय गरुडाका प्रहरीले उक्त गाडी बरामद गरेको हो । क्रेनको मदतले खाल्डोबाट गाडी बाहिर निकालिएको र गाडी अहिले इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेको छ।

बरामद गरिएको गाडीमा ठूलो परिमाणमा लागू औषध गाँजा रहेको आशंका गरिएको छ। इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीले गाडी बरामद भएको पुष्टि गर्दै गाडीमा के छ भन्ने बारे अझै एकीन हुन बाँकी रहेको बताएका छन्।

गाडीमा खानतलासी गर्ने काम भइरहेको बताउँदै डिएसपी कार्कीले केहीबेरमा मात्र गाडी भित्र के छ भन्ने कुरा खुल्ने बताए ।

प्रकाशित मिति: २०८२ श्रावण ६, मंगलवार १०:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको