चीनसँगको व्यापार वार्तामा रूस र इरानको तेल खरिद समेत समेटिने : अमेरिकी अर्थमन्त्री



एजेन्सी, साउन ६ । अमेरिकी अर्थमन्त्री स्कट बेसन्टले चीनसँगको व्यापार वार्तामा रुस र इरानको तेल खरिद समेत समेटिने बताएका छन ।
सोमबार एक अन्तर्वार्तामा उनले अमेरिका र चीनबीच चलिरहेको व्यापार वार्तामा अब चीनद्वारा रूस र इरानबाट गरिने तेल खरिदसमेतको विषय उठान हुन सक्ने बताए । उनका अनुसार, चीनले प्रतिबन्धित रूसी र इरानी तेलको “विशाल मात्रा“मा खरिद गरिरहेको छ, जुन अबको वार्ताको मुख्य बुँदा बन्न सक्छ।

सिएनबिसी सँगको कुराकानीमा बेसन्टले भने, “हामी व्यापार सम्झौताका लागि हतारमा छैनौं, तर अवस्था सकारात्मक छ । अब हामी अन्य मुद्दाहरूमा छलफल सुरु गर्न सक्छौं।“ उनले स्पष्ट संकेत दिए कि अब व्यापार वार्ता भन्सार शुल्क मात्र होइन, भू–राजनीतिक विषयहरूतर्फ पनि केन्द्रित हुँदैछ ।

बेसन्टले चेतावनी दिँदै भने, “यदि कुनै पनि देशले प्रतिबन्धित रूसी तेल किन्न खोज्छ भने, उसमाथि १०० प्रतिशतसम्म दोस्रो तहको भन्सार शुल्क लाग्न सक्छ।“ उनले युरोपलाई पनि यस्तै कदम चाल्न आग्रह गरेका छन्।

अप्रिल र मे महिनामा अमेरिका र चीनबीच भन्सार शुल्कको जबरजस्त प्रतिस्पर्धा चलेपछि जिनेभा र लन्डनमा भएको वार्तामार्फत शुल्कमा अस्थायी विराम दिइएको हो । यो विराम अगस्ट मध्यसम्म कायम रहनेछ।

यस्तै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच जुन महिनाको टेलिफोन संवादले सम्बन्धमा केही स्थायित्व ल्याएको थियो।

शाङ्घाईको फुदान विश्वविद्यालयका अन्तर्राष्ट्रिय मामिला विज्ञ सिन छ्याङका अनुसार, “बेइजिङ व्यापार वार्तामा अन्य मुद्दा जोडिन नदिने अडानमा रहनेछ।“

उनले थपे, “चीन चाहन्छ कि अमेरिका यदि इरान वा रूससँग तेल सम्बन्धी गुनासो छ भने, त्यो अन्य कूटनीतिक माध्यमबाट उठाओस्।“
दोस्रो त्रैमासिकमा चीनबाट अमेरिकातर्फको निर्यात २४ प्रतिशतले घटेको पृष्ठभूमिमा चीनले रूस र इरानबाट ऊर्जा आयात बढाएकोमा पश्चिमी देशहरूले कडा आलोचना गर्दै आएका छन्।

विशेषज्ञहरूका अनुसार, यस्ता आयातले रूसलाई युक्रेन युद्धपछिका अन्तर्राष्ट्रिय प्रतिबन्धहरूबाट उन्मुक्ति दिन सहयोग गरेको छ।
यसैबीच, ट्रम्प प्रशासनले रूसलाई ५० दिनको अल्टिमेटम दिएको छ—यदि उसले युक्रेनसँग शान्ति सम्झौता नगरेमा भारी आर्थिक प्रतिबन्ध लागु गरिने चेतावनी दिइएको छ।

प्रकाशित मिति: २०८२ श्रावण ६, मंगलवार ०८:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको