भारतले पाकिस्तानी विमानका लागि आकाशमार्गमा प्रतिबन्ध लम्ब्यायो



एजेन्सी
नयाँ दिल्ली, साउन ७ । भारत–पाकिस्तानबीचको तनाव बिस्तारै चर्किदै गएको बेला भारत सरकारले पाकिस्तानी विमानहरूको लागि आफ्नो आकाशमार्गमा प्रतिबन्ध थप एक महिना अर्थात् २३ अगस्ट २०२५ (भदौ ७) सम्म लम्ब्याएको छ । यस निर्णयले दुई छिमेकी मुलुकबीच हवाई यातायातमा थप कठिनाइहरू निम्त्याउनेछ।

भारतीय नागरिक उड्डयन राज्यमन्त्री मुरलीधर मोहोलले सामाजिक सञ्जाल एक्स (पहिलेको ट्विटर) मार्फत जानकारी दिँदै यो निर्णयको औपचारिक घोषणा गरेका हुन्। उनले बताए अनुसार यो प्रतिबन्ध हालको सुरक्षा प्रोटोकाल अनुरूप गरिएको हो। यो निर्णय खासगरी पछिल्लो समय भएको सुरक्षा चुनौतीहरूलाई मध्यनजर गर्दै लागू गरिएको हो।

यो कदम पहलगामस्थित आतङ्कवादी आक्रमणपछि भारतले सञ्चालन गरेको ‘अपरेशन सिन्दूर’ का सन्दर्भमा आएको हो। भारतीय सेनाले पाकिस्तान र कब्जामा रहेको जम्मू–कश्मीर क्षेत्र पिओके मा रहेका आतंकवादी शिविरहरूलाई लक्षित गर्दै सशक्त कारबाही गरेको थियो। यसले दुवै देशबीचको तनाव झन् बढाएको छ।

पाकिस्तानले पनि आफ्नो पक्षमा भारतीय विमानहरूका लागि आफ्नो हवाई क्षेत्रमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। पाकिस्तान नागरिक उड्डयन प्राधिकरणले भारतीय एयरलाइन्सका लागि आफ्नो हवाई क्षेत्र २४ अगस्टसम्म बन्द गर्ने जानकारी दिएको छ। यसले दुई देशबीच उडान सेवामा थप अवरोध ल्याएको छ।

यसैबीच भारतले आगामी २३ देखि २५ जुलाईसम्म राजस्थानस्थित भारत–पाक सीमा नजिकै ठूलो स्तरको वायु सेना अभ्यास गर्ने तयारी गरेको छ। भारतीय वायुसेनाले यसका लागि आवश्यक सूचना (ल्इत्ब्ः) जारी गरी सबै विमानहरूलाई सचेत गराएको छ। यो अभ्यास क्षेत्रीय सुरक्षा र तत्परता सुनिश्चित गर्न गरिएको बताइएको छ।

सैन्य अभ्यासका कारण पनि केही समयका लागि हवाई मार्गमा रोकथाम र विशेष सतर्कता अपनाइएको छ। यसले हवाई यातायातमा थप असर पर्ने देखिन्छ।

दुबै देशले एक अर्काको हवाई क्षेत्रको प्रयोगमा रोक लगाउँदा द्विपक्षीय सम्बन्ध झन् तनावपूर्ण बन्दै गएको छ। यसले नागरिक उड्डयन, व्यापारिक उडान र यात्रुहरूको आवाजाहीमा समेत प्रभाव पर्ने छ। भारत र पाकिस्तान बीच परस्पर प्रतिबन्ध र कडा नीतिहरू लागू हुनुले क्षेत्रीय शान्ति र स्थिरतामा चुनौती पैदा गरेको विश्लेषकहरूले बताएका छन्।

यद्यपि, दुबै देशका अधिकारीहरूले भने सम्भावित कूटनीतिक संवाद र समाधानका उपायहरूको खोजीमा रहेको दाबी गरेका छन्। तर, वर्तमान अवस्थामा कुनै दीर्घकालीन समाधान देखिन नसकेको अवस्था छ।

प्रकाशित मिति: २०८२ श्रावण ७, बुधवार ०८:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको