बिहार विधानसभामा विपक्षको ‘कालो प्रदर्शन’, तेजप्रताप यादव सेतो लुगा लगाए



एजेन्सी
पटना, साउन ७ । बिहार विधानसभाको वर्षे अधिवेशन (मानसून सत्र) जारी रहँदा, मतदाता नामावली पुनरावलोकनको विषयलाई लिएर विपक्षी दलहरूले ‘कालो प्रदर्शन’ गरेका छन् । तर, नेता लालु यादवका जेठा छोरा तथा हसनपुरका विधायक तेजप्रताप यादव भने प्रदर्शनभन्दा फरक शैलीमा देखिए — न कालो पोशाक, न नाराबाजी, न त सदनमा प्रवेश नै ।

विपक्षी नेताहरूले सरकारको विरुद्धमा ‘कालो प्रदर्शन’ को क्रममा कालो पोशाक लगाएर विधानसभा पुगेका थिए । नेता प्रतिपक्ष राबडी देवी कालो सारीमा विधान परिषद पुगेकी थिइन् भने अन्य सांसद तथा विधान पार्षदहरूले कालो कुर्ता–पायजामा लगाएर सरकारको आलोचना गरेका छन । उनिहरु हातमा पोस्टर लिएर सरकारको विरोध गरिरहे ।

तर, तेजप्रताप यादव न त कालो पोशाकमा थिए, न त प्रदर्शनमै । उनी सेतो खादीको पोशाकमा देखिए, जुन सामान्यतया ‘सादा जीवन उच्च विचार’को संकेत मानिन्छ ।

तेजप्रताप यादव दुवै दिन सदन स्थगित भएपछि मात्र उपस्थित भएका छन, हाजिरी लगाएर बैठकको हिस्सा नबनी फर्किएका थिए । यसबारे पत्रकारहरूले प्रश्न गर्दा उनले भने, “हामी त सुरु देखिनै यस्तै छौं। सादा जीवन, उच्च विचार नै हाम्रो सिद्धान्त हो।” कालो कपडा नलगाएको कारण सोध्दा उनले मुस्काउँदै भने, “शनिचर ग्रह हाम्रो माथि छ, त्यसैले कालो कपडा त शनिबार मात्रै लगाउँछौं।”

जब पत्रकारहरूले सोधे कि “तपाईं भित्र किन जानुहुन्न?”, उनले सहज ढंगमा जवाफ दिए —“हाम्रो आवाज त जहिँ बसे पनि बुलन्द हुन्छ, भित्र बसियोस् वा बाहिर ।”

यस टिप्पणीले उनले प्रत्यक्ष रूपमा बहसमा सामेल नहुनुको राजनीतिक सन्देश दिन खोजेको अनुमान गर्न सकिन्छ।
आगामी चुनाव कहाँबाट लड्ने? भन्ने प्रश्नमा उनले अहिले ठ्याक्कै खुलासा नगरे पनि संकेत दिए —
“समय आउँदा बताउँछौं। महुआ होस् वा बख्तियारपुर, जहाँ जनताको माग बढी हुन्छ, त्यहाँबाट लड्नेछौं।”

यसअघि पनि उनले यस्तै बयान दिँदै चुनाव लड्ने कुरा स्पष्ट गरिसकेका छन्।

तेजप्रताप यादवको यस्तो निष्क्रिय सहभागिता र सेतो पोशाकमा देखिनु राजनीतिक संकेतको रूपमा हेरिएको छ । के उनी विपक्षको रणनीतिबाट असहमत छन् ? वा नयाँ छवि बनाउन चाहन्छन् ? यसले राष्ट्रिय राजनीतिमा अनेक अडकलहरू जन्माएको छ।

जब पूरा विपक्ष सरकारको विरुद्धमा एकजुट हुँदै सडकमै उत्रिएको छ, तेजप्रताप यादवको छुट्टै शैलीले उनलाई एकपटक फेरि विवाद र चासोको केन्द्रमा ल्याएको छ।

उनको “सादा जीवन, शनिचर ग्रह र आवाज बुलन्द” शैली अब सामाजिक सञ्जालमा ट्रेन्ड हुन थालेको छ।

प्रकाशित मिति: २०८२ श्रावण ७, बुधबार ०७:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको