एजेन्सी, साउन ७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार पूर्व राष्ट्रपति बराक ओबामामाथि देशद्रोहको गम्भीर आरोप लगाएका छन् । उनले कुनै स्पष्ट प्रमाण प्रस्तुत नगरी रूससँगको झूटा सम्बन्ध जोड्ने, साथै २०१६ को राष्ट्रपतीय चुनाव अभियानलाई कमजोर पार्ने साजिशको नेतृत्व गरेको भन्दै ओबामामाथि देशद्रोहको आरोप लगाएका हुन् ।
ट्रंपले ओभल अफिसबाट सम्बोधन गर्दै भने, “यो देशद्रोह हो । ओबामाले चुनाव प्रक्रियामा हस्तक्षेप गरे, र मलाई हराउने षड्यन्त्रको अगुवाइ गरे।“ उनले अमेरिकी खुफिया एजेन्सीहरूमाथि पनि प्रश्न उठाउँदै गोप्य दस्तावेजहरू सार्वजनिक गरेका छन्, जसमा ट्रंपका अनुसार ओबामा प्रशासनका शीर्ष अधिकारीहरूले उनीविरुद्ध षड्यन्त्र गरेको प्रमाणित हुन्छ ।
बराक ओबामाका प्रवक्ताले हालसम्म ट्रंपका ती आरोपहरूमाथि कुनै प्रतिक्रिया दिएका छैनन्। यद्यपि, राजनीतिक विश्लेषकहरूका अनुसार ट्रंपको यस कदमलाई चुनावी रणनीति र ओबामाप्रति लामो समयदेखिको व्यक्तिगत असन्तुष्टिको निरन्तरताका रूपमा हेरिएको छ।
ट्रंप विगतमा पनि ओबामामाथि अनेक आरोप लगाउँदै आएका थिए, तर राष्ट्रपतिको रूपमा दोस्रो कार्यकालमा यो पहिलो पटक हो, जब उनले ओबामालाई प्रत्यक्ष आपराधिक अभियोगको रूपमा दोषी ठहर गरेका हुन्।
ट्रंपको आरोपको पृष्ठभूमिमा अमेरिकी खुफिया प्रमुख तुलसी गबार्डको एक पुरानो अभिव्यक्ति पनि जोडिएको छ, जहाँ उनले २०१६ को अमेरिकी चुनावमा रूसी हस्तक्षेपबारेको खुफिया रिपोर्टप्रति शंका व्यक्त गरेकी थिइन्। उनले ओबामा प्रशासनका केही अधिकारीहरूलाई न्याय विभागमार्फत कारबाहीको चेतावनी दिएकी थिइन्।
यही सन्दर्भ उठाउँदै ट्रंपले भने, “अब समय आएको छ कि साँचो बाहिर ल्याइयोस्। उनीहरूले मलाई कमजोर बनाउन जे गरे, त्यो केवल नीतिगत असहमति होइन, यो देशविरुद्धको साजिश थियो।“
अमेरिकी राजनीतिमा बढ्दो ध्रुवीकरण
ट्रंपको यो अभिव्यक्तिपछि अमेरिकी राजनीतिमा झनै ध्रुवीकरण बढ्ने संकेत देखिएको छ। समर्थकहरू ट्रंपको अभिव्यक्तिलाई साहसी र सत्यको उजागरको रूपमा देखिरहेका छन्, भने आलोचकहरू यसलाई बिना आधारको आरोप र राजनीतिक प्रतिशोधको रूपमा चित्रण गरिरहेका छन्।
यसबारे थप अनुसन्धान र ओबामाको पक्षबाट प्रतिक्रिया आउन बाँकी छ। यद्यपि, ट्रंपको यो कदमले अमेरिकी राजनीतिलाई पुनः एक पटक तनावपूर्ण मोडमा पु–याएको छ भन्नेमा दुई मत छैन।




