एजेन्सी
इस्तानबुल, साउन ८। रूस र युक्रेनबीच इस्तानबुलमा सम्पन्न तेस्रो चरणको औपचारिक वार्ता पनि युद्धविरामको सन्दर्भमा निष्कर्ष बिहीन बनेको छ । यद्यपि दुवै पक्षले युद्धबन्दीहरूको सटासट (कैदी अदलाबदली) सम्बन्धी सहमति गरेका छन् । एक घण्टा पनि नपुगेको वार्ता छोटो समयमा टुंगिएको थियो, जसमा दुवै देशका प्रतिनिधिहरूले आ–आफ्ना अडान दोहो¥याए ।
वार्तामा शान्ति प्रक्रियाको औपचारिक चर्चा नभए पनि मानवीय आधारमा युद्धबन्दीहरू साटासाट गर्न दुवै देश तयार भएका छन् । वार्तामा युक्रेनी प्रतिनिधिमण्डलले युद्धविरामको पक्षमा रहेको संकेत गर्दै सम्झौताका लागि लचकता देखाए पनि रूसले आफ्नो कडा सर्तहरू अगाडि सारेकोले समझदारी बन्न सकेन ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अहिलेको जटिल परिस्थितिमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सिधा वार्ता गर्न तयार रहेको अभिव्यक्ति दिएका छन् । तर, रूसले युक्रेनसँग वार्ताका लागि पहिले नै सर्तहरू राख्दै आएको छ — जसमा युक्रेनले नाटोमा प्रवेशको आकांक्षा त्याग्नुपर्ने, र क्रीमिया लगायत कब्जामा रहेका भूभागहरूमा रुसको अधिकार स्वीकार गर्नुपर्ने अडान समावेश छ ।
वार्ताको यही चरण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा चेतावनीपछि सम्पन्न भएको हो । ट्रम्पले सेप्टेम्बरदेखि रुसमाथि थप प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । यस्तै, युक्रेनलाई अमेरिका बाट हतियार दिनेबारेको नयाँ प्रस्ताव पनि सार्वजनिक भएको छ । अब अमेरिका युक्रेनलाई हतियार त दिनेछ, तर त्यसको सम्पूर्ण लागत युरोपेली साझेदार राष्ट्रहरूले व्यहोर्ने सर्त सहित ।
इस्तानबुलमा भएको अघिल्ला दुई चरणका वार्ताहरूमा पनि मुख्यतः युद्धबन्दी सटासटबाहेक अन्य संवेदनशील विषयमा सहमति बन्न सकेको थिएन। यो पटक पनि वार्ताले शान्ति स्थापना वा युद्धविरामजस्ता मुख्य मुद्दा उठाए पनि ठोस परिणाम दिन सकेन।
युक्रेनले अझै पनि युद्ध रोक्न चाहेको संकेत दिएको छ, तर रूसका सर्तहरूलाई अस्वीकार गर्दै आएको छ। यस्तो अवस्थामा युद्ध अन्त्यको सम्भावना निकट भविष्यमा देखिँदैन। विश्लेषकहरूका अनुसार दुवै देशबीच कूटनीतिक पहल बढे पनि राजनीतिक इच्छाशक्ति नहुँदा वार्ताले सकारात्मक मोड लिन सकेको छैन।






