एजेन्सी
पटना , साउन ९ । भारत सरकारका केन्द्रिय मन्त्री एवं लोक जनशक्ति पार्टी (रामविलास) का प्रमुख चिराग पासवानले बिधानसभा चुनाव बहिस्कार गरेर देखाउन राष्ट्रिय जनता दल आरजेडीका नेता तेजस्वी यादवलाई चेतावनी दिएका छन ।
मतदाता नामावली विशेष परिक्षण एसआइआरको विषयलाई लिएर बिहार प्रतिपक्षीदलका नेता समेत रहेका तेजस्वी यादवले चुनाव बहिस्कारको विषयमा छलफल भई रहेको भन्दै दिएको अभिव्यक्तिलाई लक्षित गर्दै चिरागले हिम्मत भए चुनाव बहिस्कार गरेर देखाउन चुनौती दिएका हुन ।
एक राष्ट्रिय टेलिभिजन च्यानलसँगको विशेष कुराकानीमा चिराग पासवानले तेजस्वी यादवको अभिव्यक्तिको जवाफ दिंदै भने, ‘यदि तपाईंलाई लोकतान्त्रिक व्यवस्था वा प्रणालीमा विश्वास छैन भने, बहिष्कार गरेर देखाउनुहोस् । हिम्मत छ भने एक पटक साँच्चिकै चुनाव बहिष्कार गरेर देखाउनुस् ।’
उनले आरोप लगाए कि विपक्षी दलहरूले बारम्बार विभिन्न बहानामा चुनाव प्रणालीमाथि प्रश्न उठाउँदै आएका छन्। पहिले ईभीएम प्रणालीमाथि अविश्वास व्यक्त गरियो, अहिले मतदाता नामावलीमा गडबडीको आरोप लगाउँदै बहिष्कारको कुरा गरिँदैछ । चिरागले भने, ‘यी नेताहरू केही वर्षको अन्तरालमा नयाँ मुद्दा निकाल्छन् , तर जनता हरेक पटक एउटै कथा सुन्ने मनस्थितिमा छैन ।’
चिराग पासवानले यसपटकको बिहार विधानसभा चुनावमा आफू पनि सक्रिय रूपमा उम्मेदवार बन्ने बताएका छन्। उनले भने, ूयदि म २०३० सम्म पर्खेर बसें भने त्यो ढिलो हुनेछ। अब समय आएको छ कि म स्वयं मैदानमा उत्रूँ। पार्टीले मलाई सामान्य निर्वाचन क्षेत्रबाट लड्ने सिफारिस गरेको छ र म पनि त्यसबाटै चुनाव लड्ने निर्णयमा पुगेको छु ।’
नीतीश कुमारको समर्थनमा प्रचार गर्ने तर राज्यको कानून-व्यवस्था बारे आलोचना गर्ने विषयमा चिरागले स्पष्ट पारे, ‘जब घरमै केही गलत हुन्छ, तब पनि मानिस बोल्छन् । त्यसैले राज्यमा केही गलत भइरहेको छ भने त्यसबारे बोल्नुपर्छ । कानून-व्यवस्था राज्य सरकारको जिम्मेवारी हो र यसमा अझै धेरै सुधार गर्न सकिन्छ।’
मुख्यमन्त्री नीतीश कुमारको स्वास्थ्य तथा क्षमता बारे विपक्षले उठाएका शंकाको जवाफ दिँदै चिरागले भने, ‘म नीतीश कुमारसँग नियमित रूपमा भेटघाट गर्छु। उनी पूर्ण रूपमा सक्षम छन् र अझै पनि बिहारको नेतृत्व गर्न सक्ने सामथ्र्य राख्छन्। ’
उनले विपक्षलाई लक्षित गर्दै भने, अहिलेको विपक्षसँग कुनै ठोस मुद्दा छैन। त्यसैले उनीहरू कृत्रिम मुद्दा बनाएर जनतालाई भ्रमित गर्न खोजिरहेका छन्।
बिहारमा चुनावी सरगर्मी सुरु भइसकेको छ। एकातर्फ तेजस्वी यादव चुनाव बहिष्कारको चेतावनी दिइरहेका छन् भने अर्कोतर्फ चिराग पासवान तिखो हमला गर्दै खुला चुनौती दिइरहेका छन्। अब हेर्न बाँकी छ, आगामी दिनहरूमा बिहारको राजनीतिमा कस्तो मोड आउँछ।




