एजेन्सी, साउन ९ । अमेरिकाको फ्लोरिडा राज्यमा एक अश्वेत विद्यार्थीमाथि प्रहरीद्वारा दुर्व्यवहार भएको घटना सार्वजनिक भएको छ । ट्राफिक चेकका क्रममा एक अश्वेत विद्यार्थीमाथि प्रहरीद्वारा दुर्व्यवहार भएको घटना सार्वजनिक भएपछि व्यापक आलोचना भइरहेको छ। घटना यही वर्षको फेब्रुअरी महिनाको भए पनि यसको ड्यासक्याम फुटेज अहिले सार्वजनिक भएको हो ।
सार्वजनिक भएको भिडियोमा देखिन्छ कि विलियम म्याकनील जुनियर नामक २२ वर्षीय अश्वेत विद्यार्थी गाडीको सिटमा बसेर प्रहरी सुपरवाइजरसँग कुरा गर्न गुहार लगाइरहेका थिए । तर त्यसैबेला एक प्रहरी अधिकृतले गाडीको सिसा फुटाएर उनको अनुहारमा मुक्का हान्छन् र उनलाई कारबाट तानेर बाहिर निकालेर फेरि घुँसा हान्छन्।
घटनामा म्याकनीलको एउटा दाँत छुट्टिएर ओठभित्र गडेको थियो, जसका कारण उनलाई आपतकालीन उपचारका क्रममा थुप्रै टाँका लगाउनुर्पयो।
म्याकनीलले घटनाबारे पत्रकारहरूसँग कुरा गर्दै भने, ‘म त्यस दिन केवल यत्ति जान्न चाहन्थें कि मलाई किन रोकिएको हो। मलाई थाहा थियो मैले केही गल्ती गरेको छैन। म केवल डराएको थिएँ ।’
उनी जीवविज्ञान विषयमा स्नातक गरिरहेका विद्यार्थी हुन् र उत्तरी क्यारोलिनाको सैलिसबरीस्थित लिविङस्टोन कलेजमा अध्ययनरत छन्। यो कलेज अश्वेत इसाई समुदायका लागि स्थापित शैक्षिक संस्था हो।
घटनाको ड्यासक्याम फुटेज सार्वजनिक भएपछि सामाजिक सञ्जालदेखि अधिकारकर्मीहरूबीच तीव्र प्रतिक्रिया व्यक्त गरिएको छ। प्रहरीको हिंसात्मक व्यवहार र जातीय पक्षपातको गम्भीर प्रश्न फेरि उठेको छ।
कलेजका अध्यक्ष एन्थोनी डेविसले भने, “हामी यस्ता घटनाको कडा निन्दा गर्छौं। हाम्रो विद्यार्थीमाथि भएको व्यवहार कुनै पनि सभ्य समाजका लागि स्वीकार्य हुन सक्दैन।”
फ्लोरिडा शेरिफ कार्यालयले घटनाको आन्तरिक अनुसन्धान भइरहेको जनाएको छ। तर अर्कोतर्फ राज्यका अटर्नी कार्यालयद्वारा गरिएको छुट्टै छानबिनमा संलग्न प्रहरी अधिकारीहरूलाई कुनै आपराधिक लापरवाही नगरेको ठहर गरिएको छ।
यस निर्णयले जनमानसमा अझै आक्रोश फैलिएको छ। अधिकारकर्मीहरूले यस्तो निष्कर्षलाई अन्यायपूर्ण भन्दै विरोध जनाएका छन्। उनीहरूका अनुसार अश्वेत नागरिकहरूप्रति प्रहरीको व्यवहारमा प्रणालीगत भेदभाव अझै कायम छ।
अमेरिकामा जातीय विभेद र प्रहरीको शक्तिको दुरुपयोगसम्बन्धी मुद्दा फेरि एकपटक सतहमा आएको छ। अश्वेत समुदायका युवा अझै सुरक्षित छैनन् भन्ने चिन्ता यस घटनाले स्पष्ट रूपमा देखाएको छ। म्याकनील जस्ता विद्यार्थीहरू सुरक्षित रूपमा आफ्नो हकको प्रयोग गर्न पाउने कि प्रहरी दमन सहनुपर्ने—यो प्रश्न अमेरिकी समाजका लागि गम्भीर चुनौती बनेको छ।




