बिहार चुनावअघि चिराग पासवानलाई ठूलो झटका, पार्टीका ३८ नेताहरूको सामूहिक राजीनामा



एजेन्सी
पटना, साउन १० । बिहारमा आसन्न विधानसभाको चुनाव नजिकिँदै गर्दा लोक जनशक्ति पार्टी (रामविलास) का अध्यक्ष चिराग पासवानलाई ठुलो धक्का लागेको छ । पार्टीका ३८ नेताहरूले सामूहिक रूपमा पद त्याग गर्दै गम्भीर आरोपहरू लगाएका छन् । यो घटनाले पार्टीभित्रको आन्तरिक कलह सार्वजनिक भएको छ।

खगडीयामा हालै पार्टीका प्रदेश अध्यक्ष राजु तिवारीद्वारा मनीष कुमार उर्फ ‘नाटा सिंह’लाई जिल्ला अध्यक्षको रूपमा नियुक्त गरिएपछि असन्तुष्टि चुलिएको हो । यही विषयलाई लिएर २३ जुलाईमा बलुआहीमा आकस्मिक बैठक बोलाइएको थियो, जहाँ वरिष्ठ नेता र सबै सात प्रखंड अध्यक्षहरूले सामूहिक राजीनामा दिएका हुन्।

राजीनामा दिनेहरूमा पूर्व जिलाध्यक्ष शिवराज यादव, प्रदेश महासचिव रतन पासवान, युवा जिलाध्यक्ष सुजीत पासवान लगायतका प्रमुख नेताहरू छन्। पूर्व अध्यक्ष यादवका अनुसार, खगडीयाका सबै प्रखंड अध्यक्षहरूले समेत एकै साथ राजीनामा दिएका छन्। ती नेताहरूले खुलेर एउटा सार्वजनिक पत्रमार्फत आफ्नो गुनासो पार्टीको शीर्ष नेतृत्वसम्म पु¥याएका छन्।

नेताहरूले पार्टीका खगडीया सांसद राजेश वर्मामाथि कार्यकर्तासँग अभद्र व्यवहार गरेको गम्भीर आरोप लगाएका छन्। शिवराज यादवले बताएअनुसार सांसद वर्माको असभ्य भाषा र व्यवहारका कारण पार्टीभित्र असन्तोष फैलिएको हो। रतन पासवानले आरोप लगाए कि सांसद र उनका प्रतिनिधिहरूले नेताहरूलाई निरन्तर अपमान गर्दै आएका छन्।

उनले थपे, ‘‘तीन वरिष्ठ पदाधिकारीलाई सांसदको इसारामा शो–कॉज नोटिस जारी गरियो, जुन पूर्ण रूपमा अनुचित छ। यसले पार्टीको पुरानो सिपाहीहरूलाई निराश बनाएको छ।’’

नयाँ नियुक्त खगडीया जिल्ला अध्यक्ष मनीष कुमार उर्फ ‘नाटा सिंह’को नियुक्तिमाथि पनि नेताहरूले प्रश्न उठाएका छन्। उनीहरूको भनाइमा, पार्टीका निष्ठावान कार्यकर्ताहरूको उपेक्षा गर्दै बाहिरी हस्तक्षेपको भरमा नियुक्ति गरिएको हो। नेताहरूले भनेका छन् कि खगडीया स्वर्गीय रामविलास पासवानको कर्मभूमि हो, तर आज त्यही ठाउँमा उनका सच्चा सिपाहीहरूलाई अपमानित गरिएको छ।

यस घटनाले चिराग पासवानको नेतृत्वमा रहेको एलजेपी (रामविलास) पार्टीलाई चुनावअघि नै ठुलो धक्का दिएको छ। अब चिरागले यो विद्रोहलाई कसरी व्यवस्थापन गर्छन् भन्ने कुराले चुनावी समीकरणमा ठूलो प्रभाव पार्नेछ।

प्रकाशित मिति: २०८२ श्रावण १०, शनिवार ०६:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको