थाइल्याण्ड-कम्बोडिया संघर्ष दोस्रो दिन पनि जारी, १५ को मृत्यु, सयौं विस्थापित



एजेन्सी, साउन १० । थाइल्याण्ड र कम्बोडियाको सीमामा जारी सैन्य संघर्ष दोस्रो दिन पनि जारी रहदा स्थिति युद्धको मोडमा पुगेको छ । थाईल्यान्डको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १५ जनाको मृत्यु भएको छ, जसमा १४ जना सर्वसाधारण र एक जना सैनिक रहेका छन् । ४६ जना घाइते भएका छन्।

यो हिंसात्मक झडपको सुरुवात बुधबार भएको बारूदी सुरुङ विस्फोटबाट भएको थियो, जसमा पाँच थाई सैनिक घाइते भएका थिए । त्यसपछि सुरक्षाबलबीच गोलीबारी र तोप आक्रमण शुरू भएको हो।

थाई अधिकारीहरूका अनुसार झडप खासगरी सीमाको पूर्वी क्षेत्रमा केन्द्रित छ, जहाँ हजारौं मानिस विस्थापित भएका छन्। अहिलेसम्म करिब एक लाख मानिसले सीमा क्षेत्र छाडेर सुरक्षित स्थानतर्फ पलायन गरिसकेको जनाइएको छ।

थाइल्याण्डले कम्बोडियामाथि नागरिक बस्ती र अस्पतालमाथि हमला गरेको गम्भीर आरोप लगाएको छ। थाई स्वास्थ्य मन्त्री सोमसाकले भने, “कम्बोडियाली सेनाले अस्पतालमाथि गोली चलाउनु मानवअधिकारको गम्भीर उल्लंघन हो। हामी युद्ध होइन, शान्तिको पक्षमा छौं र कम्बोडियालाई तुरुन्त युद्ध रोक्न आग्रह गर्दछौं।”

यता कम्बोडियाले हालसम्म आफ्ना क्षति वा मृतकको आधिकारिक विवरण सार्वजनिक गरेको छैन। तर स्थानीय स्रोतका अनुसार दुबै देशको सीमा क्षेत्रमा ठूलो संख्यामा सैनिक परिचालन गरिएको छ।

यस गम्भीर घटनालाई लिएर संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले शुक्रबार एक आपतकालीन बैठक बोलाउने निर्णय गरेको छ। यो निर्णय कम्बोडियाका प्रधानमन्त्री हुन मैनेटको अनुरोधमा गरिएको हो।

एएफपी समाचार एजेन्सीका अनुसार बैठकमा सीमावर्ती क्षेत्रमा भइरहेको हिंसात्मक संघर्ष र त्यसले उत्पन्न गरेको मानवीय संकटबारे छलफल गरिनेछ।

यसैबीच अमेरिकाले दुबै देशलाई संयमता अपनाउन र वार्ताबाट समाधान खोज्न आग्रह गरेको छ। वासिङ्टनले चेतावनी दिएको छ कि यदि यो संघर्ष तत्काल रोकिएन भने यसले पुरै दक्षिणपूर्वी एशिया क्षेत्रलाई अस्थिर बनाउन सक्छ।

प्रकाशित मिति: २०८२ श्रावण १०, शनिवार ०७:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको