संयुक्त राष्ट्रसंघको बैठकमा अमेरिका र चिन आमने सामने 

रुस–युक्रेन युद्धको विषयमा आरोप प्रत्यारोप


एजेन्सी, साउन १० । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको बैठकमा अमेरिका र चिन आमने सामने भएका छन । दुई देशबीच रुस–युक्रेन युद्धको मुद्दामा आरोप प्रत्यारोप भएको छ । शुक्रबार भएको १५ सदस्यीय बैठकमा अमेरिका र चीनले एकअर्कामाथि आक्रोशपूर्ण आरोप लगाउँदै तनावपूर्ण वातावरण सिर्जना गरेका थिए ।

संयुक्त राष्ट्रसंघमा कार्यवाहक अमेरिकी राजदूत डोरोथी शीयाले चीनमाथि गम्भीर आरोप लगाउँदै भनिन् कि बीजिङले युक्रेनमा रुसको आक्रमकता भड्काउने काम गरिरहेको छ । उनले स्पष्ट रूपमा सबै देशहरूलाई “दोहोरो उपयोग“ हुने वस्तुहरूको निर्यात रोक्न आग्रह गरिन् । शीया अनुसार, यस्ता सामग्रीहरू युद्ध र नागरिक दुबै प्रयोजनमा प्रयोग गर्न सकिन्छ, जसले युद्धलाई थप घातक बनाउँछ ।

शीया भन्छिन्, “रुसद्वारा युक्रेनविरुद्ध प्रयोग भएका ड्रोन, हतियार र सैन्य सवारीसाधनहरूमा चीनमा निर्मित उपकरणहरू भेटिएको प्रमाणले देखाउँछ कि बीजिङको निर्यात नियन्त्रणको दाबी अविश्वसनीय भइसकेको छ।”
चीनका उप–स्थायी संयुक्त राष्ट्र राजदूत गेंग शुआङले अमेरिका प्रति कडा प्रतिक्रिया जनाउँदै भने, “चीनले युक्रेनमा युद्ध सुरु गरेको होइन । हामी कुनै पक्षमा छैनौं, न हामीले कुनै घातक हतियार आपूर्ति गरेका छौ ं। हामीले दोहोरो प्रयोग हुने वस्तुहरूको निर्यातमा सधैं कडाइ गरेका छौं ।”

उनले स्पष्ट पारे कि चीन सधैं शान्ति र संवादको पक्षमा छ, र यस्तो संवेदनशील मुद्दामा अमेरिका जस्तो देशले एकतर्फी आरोप लगाएर टकराव बढाउनु अनुचित हो।

राजदूत गेंग शुआङले भने, “हामी अमेरिका सँग आग्रह गर्छौं कि उसले युक्रेन मुद्दामा दोषारोपण गर्ने नीति रोकोस् र युद्धविराम तथा शान्तिवार्तालाई प्रोत्साहन गर्ने रचनात्मक भूमिका निर्वाह गरोस् ।”

रुस–युक्रेन युद्ध अझै जारी छ र यसले विश्व राजनीतिमा ध्रुवीकरण बढाइरहेको छ । चीन र रुसको आर्थिक सम्बन्ध बलियो भइरहेका बेला, पश्चिमी मुलुकहरू चीनमाथि रुसलाई अप्रत्यक्ष सहयोगको आरोप लगाउँदै आएका छन् । संयुक्त राष्ट्रजस्तो मञ्चमा यी दुई शक्तिशाली देशबीचको टकरावले अन्तर्राष्ट्रिय कूटनीतिमा थप तनाव ल्याउने संकेत देखिएको छ।

प्रकाशित मिति: २०८२ श्रावण १०, शनिवार ०६:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको