एजेन्सी
बैंकक, साउन ११ । थाईल्यान्ड-कम्बोडिया भिडन्त चौथो दिन पनि जारी रहेको छ । विवादित शिव मन्दिर क्षेत्रलाई लिएर सुरु भएको युद्धस्तरको भिडन्तमा हालसम्म ३३ जनाको मृत्यु भइसकेको छ भने १ लाख ७० हजारभन्दा बढी नागरिक सुरक्षित स्थानमा सारिएका छन् ।
बुधबार प्रसात ता मोआन थोम मन्दिर नजिकै थाइल्याण्डका पाँच सैनिक ल्यान्डमाइन विस्फोटमा घाइते भएपछि तनाव चर्किएको हो । त्यसको भोलिपल्ट बिहीबार बिहानबाट दुवै पक्षले आक्रामक रूपमा आक्रमण सुरु गरेका थिए। त्यसयता भिडन्त ८१७ किलोमिटर लामो सीमा क्षेत्रमा दर्जनौँ स्थानमा फैलिएको छ।
थाईल्यान्ड-कम्बोडिया भिडन्त मा थाइल्याण्डले २० जनाको मृत्यु पुष्टि गरेको छ, जसमा अधिकांश नागरिकहरू छन् । उता कम्बोडियाले १३ जनाको मृत्यु भएको जानकारी दिएको छ, जसमा पाँच सैनिक र आठ जना सर्वसाधारण रहेका छन्।
कम्बोडियामा ३८,००० मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने थाइल्याण्डमा झन्डै १ लाख ३० हजार मानिस विस्थापित भइसकेका छन्। युद्धपीडितहरूका लागि अस्थायी शिविरहरू स्थापना गरिँदै छन्।
संघर्ष रोक्नका लागि अन्तर्राष्ट्रिय समुदायको दबाब बढ्दो छ। आसियान, संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद, अमेरिका र चीनले दुवै देशलाई तत्काल संघर्षविरामको आह्वान गरेका छन्। तर हालसम्म दुबै देशले आ–आफ्नो अडानमा कायम रहेको देखिएको छ।
युद्धपोत तैनाती र सामरिक तनाव
कम्बोडियाको रक्षा मन्त्रालयकी प्रवक्ता लेफ्टिनेन्ट जनरल माली सोचेताले भनेका छन् कि, “थाई नौसेनाका चार युद्धपोत कम्बोडियाको कोह कोंग प्रान्त नजिक लंगर हालेर बसेका छन्, र थप चार युद्धपोत त्यसतर्फ आइरहेका छन्। यो हाम्रो सार्वभौमिकतामाथि हमला हो, जसलाई सहन सकिँदैन।“
थाइल्याण्डले भने युद्धपोतहरूको तैनातीलाई सामान्य सुरक्षा उपाय भएको बताउँदै कम्बोडियाले स्थिति अनावश्यक रूपमा जटिल बनाएको आरोप लगाएको छ।
थाइल्याण्डले आरोप लगाएको छ कि कम्बोडियाबाट भएको आक्रमणको असर लाओसमा पनि परेको छ। कम्बोडियाबाट गरिएको गोलाबारीले लाओसका घरहरू र सार्वजनिक सम्पत्तिमा क्षति पु¥याएको छ भने सयौं मानिसहरूलाई सुरक्षित स्थानमा जान बाध्य बनाएको छ।




