एजेन्सी, साउन १२ । दक्षिणपूर्वी एसियाली मुलुकहरू थाइल्याण्ड र कम्बोडिया बीचको विवाद मेटिने संकेत देखिएको छ । शिव मन्दिर सीमा विवादको विषयलाई लिएर दुई देशबीच जारी युद्ध अन्त्य आज मलेसियामा उच्चस्तरीय वार्ता हुँदैछ ।
मलेसियाका विदेशमन्त्री मुहम्मद हसनले दुबै देशका शीर्ष नेताहरू कुआलालम्पुरमा भेटेर संघर्ष विराम र शान्ति स्थापनाका उपायहरूमा छलफल गर्ने जनाएका छन् ।
शनिबार मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थाइल्याण्ड र कम्बोडियाका नेताहरूसँग टेलिफोन संवाद गर्दै युद्ध तत्काल अन्त्य नगरेमा अमेरिकी व्यापार सम्बन्ध रोक्ने चेतावनी दिएका थिए । उनले जारी द्वन्द्व क्षेत्रीय शान्ति र स्थायीत्वमा बाधक बनेको भन्दै दुवै मुलुकलाई संयमता अपनाउन आग्रह गरेका थिए ।
दुवै देशका नेताहरूले ट्रम्पको सुझावप्रति धन्यवाद प्रकट गर्दै शान्ति वार्तामा सहभागी हुने प्रतिबद्धता जनाएका छन्।
मलेसियाका विदेशमन्त्री हसनले बताए अनुसार दुवै देशले मलेसियाको मध्यस्थता स्वीकार गरी शान्ति वार्तामा बस्न सहमत भएका छन् । मलेसिया हाल आसियान अध्यक्ष राष्ट्रको हैसियतमा रहेको र यस क्षेत्रको स्थायीत्वका लागि निष्पक्ष भूमिका निर्वाह गर्न तत्पर रहेको स्पष्ट पारेको छ ।
मलेसियाका प्रधानमन्त्री अनवर इब्राहीमको पहलमा थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्री फुमथम वेचायाचाइ र कम्बोडियाका प्रधानमन्त्री हुन मानेत आज कुआलालम्पुरमा आमने–सामने हुनेछन्।
थाइल्याण्ड र कम्बोडियाको सीमामा रहेको प्राचीन हिन्दू शिव मन्दिर (संभावित प्रेह विहार क्षेत्र)लाई लिएर दशकौंदेखिको सीमा विवाद फेरि चर्किँदै गएको थियो । केही दिनयता दुवै देशका सेनाबीच झडप, गोली चलाउने घटना र नागरिक विस्थापनका समाचार सार्वजनिक भइरहेका थिए ।
यसले सम्पूर्ण क्षेत्रलाई तनावग्रस्त बनाएको र आसियान मुलुकहरूलाई समेत चिन्तित तुल्याएको हो ।
थाइल्याण्ड प्रधानमन्त्री कार्यालयका प्रवक्ता जिरायु हुआङसैपले फुमथम वेचायाचाइको नेतृत्वमा उच्चस्तरीय टोली वार्तामा सहभागी हुने बताए । त्यस्तै, कम्बोडियाली प्रधानमन्त्री हुन मानेतले पनि वार्ताबाट सकारात्मक निष्कर्ष निकाल्ने अपेक्षा राखिएको बताएका छन्।




