एजेन्सी
मुजफ्फरपुर, साउन १२ । चर्चित आइपीएस अधिकारी विकास वैभवले बिहारको समग्र विकासका लागि राजनीतिक यात्रा सुरु गर्ने घोषणा गरेका छन। शनिबार मुजफ्फरपुरमा आयोजित कार्यक्रमका क्रममा उनले स्पष्ट पारे कि आफू हाल पनि बिहारकै सेवामा समर्पित छन्, तर अब सामाजिक, शैक्षिक र सांस्कृतिक परिवर्तनका लागि दलमा आबद्ध भई राजनीतिक यात्रा शुरु गर्ने सोचमा छन् ।
विकास वैभव हाल ‘लेटअस इन्सपायर बिहार’ नामक सामाजिक अभियानमार्फत राज्यभर भ्रमण गरिरहेका छन् । युवाहरूलाई सकारात्मक सोच, सामाजिक चेतना र नेतृत्वका लागि प्रेरित गर्ने यो अभियानले राज्यको नव निर्माणको बाटो खोल्ने विश्वास उनले व्यक्त गरे । उनले भने, “बिहारको समृद्धि युवा नेतृत्व र जनसहभागिताबाट मात्र सम्भव छ।”
बिहारको पछौटेपनको प्रमुख कारण जातिवाद रहेको विकास वैभवको ठम्याइ छ । उनले भने, “जबसम्म जातिभेदको मानसिकता हटाइँदैन, तबसम्म राज्यले प्रगतिको बाटो समाउन सक्दैन।” उनले चाणक्य र चन्द्रगुप्त मौर्यको उदाहरण दिँदै योग्यता आधारित समाजको पक्षमा वकालत गरे।
उनले बिहारको ऐतिहासिक सांस्कृतिक धरोहर अहिले उपेक्षित अवस्थामा रहेको उल्लेख गर्दै त्यसको पुनरुत्थान आवश्यक भएको बताए । “हाम्रो संस्कृतिमा गर्व गर्ने थुप्रै आधार छन्, तर अहिले हामी आफैं आफ्नो गौरव बिर्संदै गएका छौं,” उनले भने । उनले युवाहरुलाई शिक्षा, सामाजिक एकता र सांस्कृतिक चेतनामा नेतृत्व लिन आग्रह गरे।
विकास वैभवले राज्यको आर्थिक स्थितिप्रति गहिरो चिन्ता व्यक्त गर्दै भने, “बिहारमा प्रति व्यक्ति आय आज पनि केवल ५ हजार रुपैयाँ छ, जबकि दिल्ली, गुजरात, तेलंगानाजस्ता राज्यहरूमा यो ३० देखि ४० हजारसम्म पुगेको छ। यस्तो ठूलो अन्तरले हामी कति पछाडि छौं भन्ने देखाउँछ।”
विकास वैभवले परिवर्तन केवल एक व्यक्तिको प्रयासले सम्भव नहुने भन्दै सबै नागरिकलाई अभियानमा सहभागी हुन अपिल गरे। उनले भने, “म एक्लैले केही गर्न सक्दिन। जबसम्म हरेक नागरिक यो अभियानसँग जोडिंदैन, तबसम्म परिवर्तन सम्भव छैन।” उनले प्रशान्त किशोरको जनसंपर्क अभियानलाई सकारात्मक पहल भन्दै भने, “जति धेरै व्यक्ति परिवर्तनको लागि लाग्छन्, उति नै बिहारको भलो हुन्छ।”




