जनकपुरधाम, साउन १३ । जनकपुरधाम उपमहानगरपालिका–४ मा सोमबार राति भएको खुकुरी प्रहारको घटनामा एक किशोरीको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
धनुषा क्षीरेश्वरनाथ नगरपालिका–९ इच्छापुरका ३५ वर्षीय रामबाबु साहले राति करिब साढे ११ बजे खुकुरी प्रहार गरी १५ वर्षीया अञ्जलीकुमारी यादवको हत्या गरेका हुन् । अञ्जलीको घाँटी काटिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
साहले सोही घरमा डेरा गरी बस्ने क्षीरेश्वरनाथ–४ की ३५ वर्षीया आशा यादवमाथि समेत खुकुरी प्रहार गरेका छन् । टाउको र शरीरका विभिन्न भागमा चोट लागेकी आशा गम्भीर घाइते छन् । अञ्जली आशाकी छोरी हुन् ।
त्यसैगरी, घटनास्थलमै बस्दै आएकी धनुषा मिथिला नगरपालिका–१ ढल्केवरका भोगिन्द्र यादवकी १४ वर्षीया छोरी राधा यादवमाथि पनि साहले खुकुरी प्रहार गरेका छन् । राधाको दाहिने हात र घुँडामा गम्भीर चोट लागेको छ ।
घाइतेहरुको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
घटनापछि आरोपी रामबाबु साह फरार रहेको र उनको खोजी तथा घटनाको अनुसन्धान जारी रहेको धनुषा प्रहरीले जनाएको छ । साह यसअघि आफ्नै श्रीमतीको हत्या अभियोगमा पाँच वर्ष जेल सजाय भोगिसकेका थिए ।




