एजेन्सी
पटना, साउन १३ । लोजपा (रामविलास) प्रमुख चिराग पासवानले आगामी विधानसभा चुनावपछि नीतिश कुमार नै पुनः बिहारका मुख्यमन्त्री बन्ने बताएका छन ।
नीतिश कुमारको आलोचना गर्दै आएका चिराग पासवानले पत्रकारसँग कुरा गर्दै उनीप्रति समर्थन जनाएका छन । प्रधानमन्त्री मोदीलाई ’हनुमान’ को उपमा दिँदै उनले आफू सदैव प्रधानमन्त्रीप्रति प्रतिबद्ध रहेको दोहो¥याए। उनले यसपटक एनडीए गठबन्धनलाई “विजयी गठबन्धन“ भन्दै प्रशंसा समेत गरेका छन ।
हाजीपुर क्षेत्रका सांसद चिराग पासवानले भने, “मैले धेरैपटक दोहो¥याएको छु— मेरो समर्पण र माया प्रधानमन्त्री मोदीप्रति छ । बिहारमा चुनाव मोदीको नेतृत्वमा हुनेछ, र परिणामपछि नीतिश कुमार फेरि मुख्यमन्त्री बन्नेछन् । यसमा कुनै शंका छैन ।“
उनको यो भनाइ यसकारण पनि चकित पार्ने खालको हो कि उनी विगतमा बारम्बार नीतिश सरकारको आलोचना गर्दै आएका थिए । केही दिनअघि मात्र उनले बिहारमा बढ्दो अपराध र प्रशासनिक कमजोरीलाई लिएर चिन्ता व्यक्त गरेका थिए । उनले आरोप लगाएका थिए कि “बिहार सरकार अपराधीहरूसामु घुँडा टेकेको छ ।“
मतदाता नामावलीको विशेष गहन पुनरावलोकन प्रक्रिया बारे चिराग पासवानले भने, “यो प्रक्रिया विगतमा पनि चारपटक भइसकेको छ । अहिले नयाँ कुरा भनेको डिजिटल प्रविधिको समावेशीकरण हो । पहिले भौतिक कागज बुझाउनु पथ्र्यो, अहिले अनलाइन आवेदन दिन सकिन्छ ।”
उनले एसआइआर प्रक्रियामार्फत जनताको सहभागिता अझ सहज हुने बताए, तर यसको प्रभावकारिता सुनिश्चित गर्न निष्पक्षता जरुरी रहेको टिप्पणी गरे ।
चिराग पासवानको ताजा अभिव्यक्तिले बिहारको आगामी चुनावी समीकरणमा नयाँ मोड ल्याएको छ । जहाँ एकातिर विपक्षी दलहरूले नीतिश सरकारमाथि आक्रोश पोखिरहेका छन्, त्यहीं अर्कोतर्फ लामो समयदेखि विरोधी देखिएका पासवानको समर्थनले एनडीएभित्र एकता सुदृढ भएको संकेत दिएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार चिरागको समर्थनले एनडीएलाई यादव–ओबीसी–दलित मतदातामा फाइदा मिल्न सक्नेछ। तर यसले लोजपा कार्यकर्ताबीच केही असमझदारी निम्त्याउन सक्ने जोखिम पनि देखिन्छ।




