काँग्रेस प्रदेश महासचिव प्रतिभा सिंह जनसुराज पार्टीमा



एजेन्सी, साउन १४ । भारतीय कांग्रेस पार्टीकी कद्दावर नेतृ तथा बिहार प्रदेश कांग्रेस कमिटीकी महासचिव प्रतिभा सिंह जनसुराजपार्टीमा प्रवेश गरेकी छन । काँग्रेस प्रदेश महासचिव प्रतिभा सिंह एक कार्यक्रमबीच प्रशांत किशोर नेतृत्वको जन सुराज पार्टीमा प्रवेश गरेकी हुन ।

जन सुराज पार्टीको दरभंगा जिल्ला कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रतिभा सिंहले पार्टी प्रवेशको घोषणा गर्दै भनिन्, “म प्रशांत किशोरका विचार, नीतिहरू र बिहार परिवर्तनको लक्ष्यप्रति आकर्षित भएकी हुँ । यहाँको सोच र योजनाले नयाँ आशा जगाएको छ।”
साथै उनले आगामी दिनमा महिला सशक्तीकरण र युवाको सहभागिता सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताइन्।

जन सुराजका जिल्ला अध्यक्ष आमिर हैदरले प्रतिभा सिंहको आगमन पार्टीका लागि ऐतिहासिक अवसर भएको बताए। उनले भने, “प्रतिभा सिंहजस्तो अनुभवी नेतृको सहभागिताले संगठन अझ मजबुत हुने मात्र होइन, महिला र युवालाई संगठित गर्न ठूलो भूमिका खेल्नेछ।”

कार्यक्रममा विप्लव चौधरी, रेखा देवी, निर्मल मिश्रा, प्रो. सुरेन्द्र मोहन यादव, भगवान ठाकुरलगायत जन सुराजका अन्य नेताहरू पनि उपस्थित थिए।

प्रतिभा सिंह लामो समयदेखि कांग्रेस पार्टीमा सक्रिय भूमिका निर्वाह गर्दै आइरहेकी छन्। उनी २००४–०६ मा महिला कांग्रेस प्रखंड अध्यक्ष, २००६–०८ मा जिल्ला युवा कांग्रेस अध्यक्ष, र २००८–१६ सम्म महिला कांग्रेसको राज्य सचिवको रूपमा कार्यरत रहिन्।
त्यस्तै, उनले समस्तीपुर लोकसभा क्षेत्रको प्रभारीका रूपमा समेत जिम्मेवारी सम्हालेकी थिइन्। राजनीतिक यात्रासँगै उनी सामाजिक र शैक्षिक क्षेत्रमै पनि क्रियाशील छिन्। प्रतिभा ‘प्रतिभा विहार एकेडेमी’ र ‘लर्निङ व्हील्स ट्रान्सपोर्ट कम्पनी’ की संस्थापक हुन्।

उनले अतीतमा असलम शेख, संजय निरुपम, सुनील दत्त, र प्रियंका चतुर्वेदीजस्ता नेताहरूको साथमा पनि काम गरिसकेकी छन्।
कांग्रेस पार्टीबाट एकपछि अर्को गर्दै नेताहरूको बाहिरिनु हालको नेतृत्वप्रति असन्तुष्टि हो वा वैकल्पिक राजनीतिको खोज—यो बहसको विषय हुन सक्छ। तर प्रतिभा सिंहको जन सुराजमा प्रवेशले स्पष्ट सन्देश दिएको छ कि बिहारको राजनीति परिवर्तनको मोडमा छ।

अब हेर्न बाँकी कुरा के हो भने—के प्रशांत किशोर नेतृत्वको जन सुराज पार्टी यी अनुभवी नेताहरूको सहकार्यमा राज्यमा वैकल्पिक शक्ति बन्न सक्छ?

प्रकाशित मिति: २०८२ श्रावण १४, बुधवार ०८:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको