इजरायल-हमास युद्धमा ६० हजारभन्दा बढी प्यालेस्टिनी मारिए



एजेन्सी, साउन १४ । इजरायल-हमास युद्धमा अहिले सम्म ६० हजार भन्दा बढी प्यालेस्टिनी मारिएका छन । २१ महिनामा गाजा पट्टी नरसंहारको पर्याय बन्दै गएको छ । गाजा स्वास्थ्य मन्त्रालयका अनुसार, ७ अक्टोबर २०२३ मा हमासको आक्रमणपछि सुरु भएको द्वन्द्वमा हालसम्म ६०,०३४ फलस्तीनीले ज्यान गुमाएका छन्, भने १,४५,८७० भन्दा बढी घाइते भएका छन्।

स्वास्थ्य मन्त्रालयले मृतकहरूको करिब आधा हिस्सा महिला र बालबालिका भएको जानकारी दिएको छ। यद्यपि, उसले मृत्यु हुनेमा कति आम नागरिक र कति लडाकु थिए भन्ने खुलाइएको छैन। संयुक्त राष्ट्रसंघ र अन्य अन्तर्राष्ट्रिय निकायहरूले यिनै तथ्यांकलाई “सबैभन्दा विश्वसनीय” मानेका छन्।

इजरायली हवाई आक्रमण र स्थल कारबाहीका कारण गाजा पट्टीका ९० प्रतिशतभन्दा बढी बासिन्दा आफ्नो घरबाट विस्थापित भएका छन्। अधिकांश शहरहरू भग्नावशेषमा परिणत भइसकेका छन्। विशेषज्ञहरूले गाजामा गम्भीर मानवीय संकट उत्पन्न भएको भन्दै निकट भविष्यमा भयानक अकालको चेतावनी दिएका छन्।

गम्भीर खाद्य संकट

गाजा पट्टीमा हालसालै कुपोषित बालबालिकाको तस्बिरहरू बाहिरिएका छन्। इंटीग्रेटेड फूड सेक्युरिटी फेज क्लासिफिकेशनले मंगलबार एक विज्ञप्ति जारी गर्दै चेतावनी दिएको छ—“यदि तुरुन्तै ठोस कदम चालिएन भने गाजामा हजारौं मानिस भोककै कारण ज्यान गुमाउने सम्भावना छ।”

इजरायल–हमास युद्धका कारण गाजाको सुरक्षा व्यवस्था ध्वस्त बनेको छ । सीमित राहत सामग्री सुरक्षितरूपमा आम जनता समक्ष पु¥याउन गाह्रो भएको सहायता संस्थाहरू बताउँछन्। व्यापारीहरूले जमाखोरी र कालोबजारी गरिरहेका छन्। हाल गाजामा एक किलो पिठो ६० डलर, र एक किलो दाल ३५ डलरमा बिक्री भइरहेको छ— जुन आम बासिन्दाको पहुँचभन्दा बाहिर छ।

इजरायली प्रशासनले पछिल्ला दिनमा गाजामा खाद्यान्न आपूर्ति बढाउने नयाँ उपायको घोषणा गरे पनि, जमीनी रूपमा प्रभाव देखिएको छैन। अन्तर्राष्ट्रिय दबाबपछि केही सहायता सामग्री थप पठाइए पनि स्थिति यथावत रहेको सहायता समूहहरूको भनाइ छ।

प्रकाशित मिति: २०८२ श्रावण १४, बुधवार ०८:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको