बंगलादेशको राजनीतिमा नयाँ तरंग, खालिदा जिया चुनाव लड्ने घोषणा



एजेन्सी, साउन १५ । बंगलादेशको राजनीतिमा फेरि नयाँ तरंग देखिएको छ । बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष तथा पूर्व प्रधानमन्त्री खालिदा जियाले आउँदो आम निर्वाचन लड्ने घोषणा गरेकी छन् । बीएनपीका उपाध्यक्ष अब्दुल अवल मिंटूले बुधवार एक सार्वजनिक कार्यक्रममा यसबारे घोषणा गरेका हुन् ।

फेनी जिल्लामा आयोजित कार्यक्रममा बोल्दै उपाध्यक्ष मिंटूले खालिदा जियाको स्वास्थ्य अवस्था अब सन्तोषजनक रहेको जानकारी दिँदै भने, “हाम्रो नेतृ खालिदा जिया पूर्ण रूपमा स्वस्थ छिन् र अब चुनाव लड्नेछिन् ।“

उनले फेनी जिल्लामा बीएनपीको जीत सुनिश्चित भएको बताउँदै भने, “यदि निष्पक्ष चुनाव भयो भने, फेनीमा बीएनपी अवश्य जित्नेछ । यहाँको चुनावी इतिहास हाम्रो पक्षमा छ।“

मिंटूले देशको हालको राजनीतिक परिस्थिति हेर्दा निर्वाचन तोकिएको मितिभन्दा छिटो हुन सक्ने पनि संकेत दिएका छन् । उनका अनुसार, “देशमा कार्यवाहक सरकारसम्बन्धी मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छ । यदि अदालतले कार्यवाहक सरकार पुनःस्थापनाको आदेश दियो भने, अस्थायी सरकारको नेतृत्वमा ९० दिनभित्र चुनाव सम्पन्न गरिनुपर्नेछ।“

बीएनपी उपाध्यक्षका अनुसार, लन्डनमा पार्टीका कार्यवाहक अध्यक्ष तारिक रहमान र अस्थायी सरकारका प्रतिनिधिहरूबीच भएको बैठकमा केही सहमति भएका छन्। मिंटूले भने, “हामी त्यही सहमतिमा विश्वास गर्छौं र चुनावको लागि तयार छौं।“

उनले कार्यवाहक सरकार अन्तर्गत हुने चुनावमा जनताको समर्थन बीएनपीसँग रहने दाबी गर्दै निष्पक्ष निर्वाचन आवश्यक रहेको दोहो¥याए।

बंगलादेशको संविधान अनुसार कार्यवाहक सरकारको नेतृत्वमा भएमा ९० दिनभित्र निर्वाचन सम्पन्न गरिनुपर्ने प्रावधान छ। यसकारणले मिंटूले जनवरी २०२६ भित्र चुनाव सम्पन्न हुने अनुमान व्यक्त गरेका छन्।

बीएनपी अध्यक्ष खालिदा जियाले पुनः राजनीतिक मैदानमा फर्किने निर्णयले बंगलादेशको राजनीतिमा नयाँ तरंग ल्याएको छ । समयअघि चुनाव हुने सम्भावनाले सत्तारूढ अवामी लीगलाई चुनौती दिनसक्ने विश्लेषण गरिएको छ । अब राजनीतिक दलहरूको रणनीति, अदालतको निर्णय र निर्वाचन आयोगको भूमिका बंगलादेशको आगामी राजनीतिक भविष्य निर्धारण गर्नेछ।

प्रकाशित मिति: २०८२ श्रावण १५, बिहिवार ०८:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको